किन भयो समाज परिवर्तनकारी पण्डित पोखरेलको हत्या


गोरखा जिल्ला वगुवा–७ लामाचौरामा जन्मिएका वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोखरेलले भागवतीय ज्ञान फैलाएर समाजमा छुट्टै अस्तित्व र पहिचान स्थापित गरेका थिए । करिब एक हजार एक सय ३५ पटक पौराणिक धार्मिक अनुष्ठान सम्पन्न गरेका थिए ।

सामाजिक विकासमा लागि विभिन्न क्षेत्रहरूमा यज्ञ सञ्चालन गरी करिब २ अरव २५ करोड भन्दा बढीको आथिक सङ्कलन, साथै समाजमा छरिएर रहेको निष्क्रिय पूँजीलाई समाज विकासमा लगाउन प्रेरणा प्रदान गरेका थिए ।

सामाजिक परिवर्तनमा उनको योगदान विशेष थियो । छुवाछुत रहित समाजको स्थापना गर्ने, सामाजिक संघसंस्थाहरूको विकासमा यज्ञ संचालन, दलितहरूलाई धार्मिक सभामा तथा यज्ञमा सभानायक बनाउने, दलितहरूलाई सम्मिलित गराईसह भोज गराउने जस्ता कार्य गरेका थिए । समाजको समयसापेक्ष रूपान्तरणमा भूमिका खेलेका थिए ।

पोखरेलको भागवत वाचनबाट करिब २५० भन्दा बढी शैक्षिक संस्थाहरू ( कलेज/विद्यालय ) शैक्षिक स्तर थप्ने र गुणस्तर वृद्धि गर्न कार्य भएको छ । अस्पताल, बाटो, पुल समेत निर्माण गरिएका थिए ।

विश्व हिन्दु महासङ्घ नेपाल राष्ट्रिय समितिको केन्द्रीय अध्यक्ष पदमा वि.सं. २०५७ वैशाख २८ गते निर्वाचित पण्डित पोखरेललाई वि.सं. २०५३ साल चैत्र २६ गते काठमाडौंको भद्रकालीमा आयोजित सप्ताह ज्ञानमहायज्ञमा प्रवचन श्रवण गरेर राजनेताद्वय गणेशमान सिंह र मनमोहन अधिकारीले संयुक्त रूपमा जनताको तर्फबाट ‘वाचन शिरोमणि’ को उपाधि दिए । तत्कालिन राजा वीरेन्द्रवाट समेत अनौपचारिक रूपमा ‘वाचनशिरोमणि’ एवं ‘जनताका धार्मिक प्रवाचक’ उपाधि प्रदान भयो ।

श्रीमद्भागवत वाचनको शिलशिलामा नै पण्डित पोखरेलको हत्या भयो । वि.सं. २०६२ साल वैशाख २२ गते विहान ६ः२० बजेतिर नित्यकर्ममा रहेका बखत अज्ञात व्यक्तिहरूबाट गोली हानी पासविक र अमानवीय ढंगबाट हत्या भयो । रूपन्देही जिल्लाको दूधराक्ष गा. वि. सं. अन्तर्गत रामपुर भन्ने ठाउँमा नित्य कर्मकै क्रममा आपराधिक समूहद्वारा गोली प्रहार गरी पण्डितको हत्या भएको थियो ।

हत्याको अनुसन्धान भएर केही व्यक्ति पक्राउ परे । तर, वास्तविक हत्यारा अझै पत्ता लाग्न नसकेको विषय उठ्ने गरेको छ । धर्मबाट सामाजिक परिवर्तनमा लागेका उनको हत्या व्यक्तिगत कारणले मात्र हुनसक्ने पत्याउन नसकिने थियो । पण्डित पोखरेलको हत्याको वास्तविक कारण र हत्याका मुख्य नाइकेहरु अझै रहस्यकै गर्भमा छन् ।-तस्वीरः युट्युब

Skip This

Omoda E5 Pro