दाहाललाई कार्यकारी बनाउन ओलीमाथि पार्टीभित्रबाटै दबाब

0
Shares

काठमाडौं २३ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ ।

प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताले पार्टीको काम चुस्त रुपमा अघि बढाउन दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन दबाब बढाएका हुन् ।

पार्टीमा दुई जना अध्यक्ष भए पनि कार्यकारी अधिकार ओलीले प्रयोग गर्दै आएका छन् । स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागू गर्नुपर्ने बताउँदै सरकार केपी ओलीले चलाउनु पर्ने र पार्टी चलाउने कार्यकारी जिम्मा अर्का अध्यक्ष दाहाललाई दिनुपर्ने बताएका छन् ।

नेकपाका अर्का नेता एवं कृषिमन्त्री चक्रपाणि खनालले पनि दाहाललाई कार्यकारी अधिकारसहित पार्टी चलाउन दिनुपर्ने र ओलीले सरकार चलाउनुपर्ने बताउँदै आएका छन् ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि नेताहरुको जिम्मेवारी ठोस र मूर्त हुनुपर्ने धारणा राख्दै आएका छन् । –नागरिक दैनिकबाट