भद्रगोल आन्तरिक उडान


पोखरा, कार्तिक १८ । शनिबार बेलुकी साढे ५ बजे पोखरा विमानस्थलबाट बुद्ध र यती एयरलाइन्सका दुई जहाज काठमाडौं उड्ने तयारीमा थिए।

निर्धा्रित समयभन्दा दुई घण्टा बढी समय ढिला गरेर आएका ती जहाज काठमाडौं फर्किने तयारीसँगै पोखराका यात्रु चढिसकेका थिए। लामो पर्खाइले अत्तालिएका यात्रु अन्तिम समयमा जहाज चढ्न पाउँदा गन्तव्यमा पुग्न पाइने भन्दै ढुक्कसँग सिटमा बसिसकेका थिए।

७२ सिट क्षमताका एटिआर–७२ ती दुई जहाजमा ६५ जनाका दरले यात्रु उडानको तयारीमा थिए। तर, जहाजमा बसिसकेका यात्रुलाई एकाएक ओरालेर अन्तिम समयमा दुइटै उडान रद्ध भएको जनाउ दिइयो।

त्यसपछि निराश र आक्रोशित बनेका केही यात्रु बस चढेर काठमाडौंतिर लागे भने कतिपय आइतबार बिहानको पहिलो उडानमा जाने योजनासहित घर फर्किए। होटलबाट बिदावारी भएका पर्यटक उडान रद्ध भएपछि फेरि होटल खोज्दै लेकसाइडतिर लागे। जहाजमा लोड गरिसकेको ‘लगेज’ घिसार्दै यात्रु विमानस्थलबाट बाहिरिए।

आन्तरिक उडान कतिसम्मको भद्रगोल छ भन्ने शनिबार पोखराको यी दुईवटा उडानको अवस्थाले देखाउँछ। पछिल्लो समय आन्तरिक उडान निकै नै झन्झटिलो र भद्रगोल बन्दै गएको यात्रुको गुनासो रहेको आजको नागरिक दैनिकमा खवर छ ।