आज राति पौने १ बजे बार्सा र रियल मड्रिड भीड्दै, कसले मार्ला बाजी ?


काठमाडौं, २ पुस । स्पेनिश महारथीहरु बार्सिलोना र रियल म्याड्रिडबीच आज राति पौने एक बजे भीडन्त हुँदैछ । विश्भरि एल क्लासिको भीडन्तको नामले परिचित बार्सा र रियलबीचको खेल फुटबलप्रेमीहरुको लागि प्रतिक्षाको विषय हो ।

खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । एल क्लासिकोको भिडन्त पछिल्लो पटक गत मार्च १९ मा भएको थियो। सो खेलमा बार्सिलोनाले रियलको मैदानमा १–० को जित निकालेको थियो।

बार्सिलोनाविरुद्धका पछिल्ला ६ ला लिगाका भिडन्तमा रियलले जित निकाल्न सकेको छैन। लिगका ६ मध्ये ४ खेलमा बार्सिलोना विजयी भएको छ भने २ खेल बराबरीमा सकिएका छन्। एल क्लासिकोका सबैभन्दा बढी गोलकर्ता बार्सिलोनाका लिओनल मेसीले पछिल्ला तीन खेलमा गोल वा एसिस्ट गर्न सकेका छैनन्। मेसीले रियलविरुद्ध अहिलेसम्म २६ गोल गरिसकेका छन्।

स्पेनिस ला लिगा अन्तर्गतको प्रतिस्पर्धा रोमाञ्चक हुने पक्का छ। खेलमा जित हात पार्ने टिम लिगको अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ। दुवै टिमले लिगका १६–१६ खेल खेल्दा ३५–३५ अंक जोडेका छन्। गोलअन्तरमा बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ।

एजेन्सीको सहयोगमा