‘बलि’ दिन भारत लगिएकी किशोरीको उद्धार


काठमाडौं, पुस १० । ‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनीआसपासबाट सकुशल उद्धार गरिएको छ। झापा घर भएकी ती किशोरीलाई ‘मोडल’ आवश्यक परेको भन्दै झुक्याएर भारततर्फ लगिँदै थियो।

किशोरी पक्राउ परेलगत्तै प्रहरीले चारजनालाई मोरङ र दुईजनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा प्रेममाया तामाङ, दिलकुमारी बुढामगर, उमेशकुमार माझी, दिलीप पोद्दार, कृष्ण तामाङ र उमेश साह रहेको प्रहरी स्रोतको भनाइ छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले ६ जना पक्राउ परेको पुष्टि गरे। ‘किशोरीको उद्धार गरिएको छ। पक्राउ परेकाहरूबारे अनुसन्धान हुँदैछ,’ उनले भने। पक्राउ पर्नेमा दुईजना पति–पत्नीसमेत रहेको बताइएको छ। काठमाडौं बस्दै आएकी ती किशोरीले ६ महिनादेखि बानेश्वरस्थित फेसन डिजाइनसम्बन्धी पसल खोलेर बसेकी एक महिलासँग सम्पर्क बढाएकी थिइन्।

त्यही महिलामार्फत उनी बलिका लागि मान्छे भारत लैजानेहरूको सम्पर्कमा पुगिकी हुन्। ‘भर्खरभर्खर मोडलिङ थालेकी किशोरी रहिछन्।

भारतमा गई मोडलिङ गर्न तयार भइछन्। त्यसपछि पटकपटक अन्तर्वार्ता दिने क्रममा शंका लागेपछि उनी प्रहरीको सम्पर्कमा आएकी हुन्,’ स्रोतले भन्यो। ती किशोरीले पुस २ गते प्रहरीमा उजुरी दिएकी हुन्। त्यसपछि मात्रै परिसरले प्रहरी निरीक्षकको कमान्डमा अप्रेसन चलाएको थियो।नागरिक दैनिकबाट