‘हामीले उपसभामुख मागेका छैनौं, नमाग्दा पनि दिने हो भने पार्टीमा छलफल गर्छौं’
काठमाडौं, १४ माघ । राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले आफूहरुको माग पूरा नभएसम्म सरकारलाई समर्थन नगर्ने स्पष्ट पारेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप समेत लगाएका छन् ।
उनले मधेसको मुद्दा संबोधन नगर्ने तर मधेसी दललाई सत्ताको लोभ देखाएर समर्थन लिने प्रवृत्ति देखिएको बताए । एउटालाई १८ महिना सरकारमा ल्याउने र फेरि अर्कोलाई ल्याउने सरकारको प्रवृत्ति देखिएको भन्दै यादवले अब सरकारले माग पूरा नगर्दासम्म समर्थन नगर्ने र सरकारमा पनि नजाने बताए । यादवले अघि थपे,‘हामी सरकारलाई समर्थन दिन तयार छौं, सरकारले कति दिन हाम्रो समर्थन चाहन्छ ? तर हाम्रो मुद्दा संबोधन हुनुपर्यो, माननीय रेशम चौधरी छुट्नुपर्यो ।’
अध्यक्ष मण्डलका संयोजकसमेत रहेका सांसद यादवले सरकारले आफूहरुको समर्थन लिने तर माग पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै यादवले यस्तो प्रवृत्ति रहँदासम्म सरकारमा जाने सम्भावना नभएको स्पष्ट पारेका छन् । यादवले आफूहरुले उपसभामुख पद पनि नमागेको जिकिर गरे । उनले भने ‘हामीले उपसभामुख मागेका छैनौं, नमाग्दा पनि दिने हो भने हामी पार्टीमा छलफल गर्छौं।’ file photo/Mukunda Kalikote




प्रतिक्रिया