उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिम समुद्‍घाटन


काठमाडौ, फागुन २४ । नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सि.सं. ५ उच्च स्तरीय सुरक्षा तालिमको शुक्रबारबाट सुरु भएको छ । फाल्गुन १९ गते शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक समारोहका बीच प्रथम प्रवचन गरी आरम्भ गरेका थिए ।

उक्त समारोहमा उद्घाटन गर्नुहुदै प्रधानसेनापति थापाले यस तालिमले नेपालको सुरक्षा संयन्त्रहरु बीच भावी योजना, नीति निर्माण तथा कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए ।

साथै उनले सुरक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागितामा संचालन भएको यस तालिमबाट वर्तमान तथा भविष्यको सुरक्षा चुनौतीहरुलाई पहिचान गरी आपसी सहयोग एवं समन्वयबाट निराकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

सोहि क्रममा मन्तव्य राख्दै श्री रक्षा मन्त्रलायका रक्षा सचिव रेश्मी राज पाण्डेले हालको बदलिदो परिप्रेक्षमा देखा परेका सुरक्षा चुनौतीहरुको सामना गर्न सबै सरोकारवाला निकायहरु एकवद्ध भई लाग्नु पर्ने बताएका थिए ।

अन्तर्रा्ष्ट्रिय परिस्थिती, राष्ट्रिय सुरक्षा, राष्ट्रिय शक्तिका तत्त्वहरु लगायत क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिस्थितीसँग सम्बन्धित विषयहरु समावेश गरी संचालन गरिएको यस तालिमको उद्देश्य सहभागीहरुलाई अन्तर्रा्ष्ट्रिय र क्षेत्रीय सामरिक चासोहरुको परिप्रेक्षमा नेपालले अवलम्बन गर्नुपर्ने राष्ट्रिय सुरक्षाको विस्तृत रुपमा ज्ञान आदान प्रदान गराई राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सबै पक्षहरु बीच समन्वयात्मक रुपमा कार्य गर्न सहज बनाउनु रहेको छ । वि.सं.२०७२ सालबाट प्रथम पटक शुरु गरिएको यस तालिममा हालसम्म ९३ जनाले सहभागिता जनाइसकेका छन् ।

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । चैत्र ६ गतेसम्म सञ्चालन हुने उक्त तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायहरुका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरु, विश्‍व विद्यालय तथा शिक्षण संस्थाहरु, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी तथा संचारकर्मीहरु गरि जम्मा २० जना सहभागीता रहेको छ ।

उक्त समुद्‍घाटन समारोहमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।