कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था


सउल, ३ वैशाख । कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।

वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ । हाल सदनमा यो दलको १२० सिट छ । बलियो प्रतिद्वन्द्वी मानिने युनाइटेड फ्युचर पार्टी पनि आफ्नो बहुमत आउनेमा ढुक्क छ । सदनमा युटाइटेड फ्युचरको पार्टीको ११२ सिट भए पनि २० सांसदले छुट्टै युनाइटेड पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन् । उनीहरु पनि आफ्नो बहुमत आउने दाबी गरिरहेका छन् ।

मजदुरको पक्षधर मानिने राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल पूरा भएको छ । आफूले सत्ता सम्हाल्नासाथ मजदुरको ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने उनको महत्वकाङ्क्षी योजना अझै पूरा हुनसकेको छैन तर पनि अन्य योजनाहरु चुस्तगतिमा अगाडि बढाउनाका साथै कोरोना माहामारीलाई घटाउन उनको सरकारले गरेको कदमको विश्वव्यापीरूपमा प्रशंसा भइरहेको छ ।

मुनको पार्टी डेमोक्रेटिकले निर्वाचनमा बहुमत पाए मुनलाई बाँकी दुई वर्ष आफूले चाहेअनुसारका काम गर्न, नीति नियम बनाउन र योजना पूरा गर्ने अवसर हुनेछ ।

जोखिम हुन नदिन तयारी

कोरियाली निर्वाचन आयोगका अनुसार कोरोना सङ्क्रमण फैलन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्ने, सबैले मास्क लगाउनुपर्ने, मतदान केन्द्र प्रवेश गर्नुअघि स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने छ ।

हातमा स्यानिटाइजर लगाएपछि निर्वाचन आयोगका प्रतिनिधिले दिएको प्लास्टिकको पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । मतदानस्थलमा सबै मतदाताको विशेष यन्त्रमार्फत ज्वरो नापिने र ३७।५ भन्दा बढी तापक्रम भएका मतदातालाई छुट्टै लाइनको व्यवस्था गरिनेछ ।

चुनावमा कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउनेछन् । उनीहरु बिहान ९ बजेभन्दा अघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाइएको छ । साथै विदेशमा रहेका कोरियाली नागरिकका लागि पनि मतदानको व्यवस्था गरिएको थियो । उनीहरुले दुई साताअघिदेखि नै भोट हालिसकेका छन् । (रासस)