सिन्धुपाल्चोक, असार २३ । नेपाल र चीनबीचको सबैभन्दा ठूलो व्यापारिक तातोपानी नाकाबाट साढे आठ अर्ब रुपियाँ बराबरको सामग्री आयात भएको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण चार वर्ष बन्द भएको सो नाका २०७६ जेठ १५ गते सञ्चालनमा आएको थियो ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार गत जेठ १५ पछि आठ अर्ब २० करोड मूल्य बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको छ ।पछिल्लो दुई महिनायता सबैभन्दा बढी रकमको सामग्री भित्रिएको छ । तिनमा स्वास्थ्य सामग्री र अन्य सामग्री छन् । कोभिड–१९ प्रतिरोधी स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, तयारी पोसाक, लत्ताकपडा, स्याउ, लसुन, कृषि उपकरण, बीउबिजन लगायतका सामग्री नेपाल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी नाका अन्तर्राष्ट्रियस्तरको नाका भएकाले सबै किसिमका सामग्री भित्रिइरहेका छन् । कोभिड–१९ परीक्षण गर्ने पीसीआर मेसिन, भीटीएम किट्स, भेन्टिलेटर, पीपीई सेट, एन ९५ माक्स, सेनिटाइजरजस्ता स्वास्थ्य सामग्री नेपाल आयात भएको प्रमुख खत्रीले बताए । उनका अनुसार ११ करोडभन्दा बढी मूल्यको स्याउ, लसुन, साढे चार करोडभन्दा बढीको धानको बीउ, एक करोडभन्दा बढीको कृषि उपकरण, ५० लाख बराबरको एम्बुलेन्सजस्ता सामग्री पनि आयात भएको छ ।
स्वास्थ्य सामग्री र अन्य सामग्री आउने क्रम जारी छ । भूकम्पपछि सो नाकाबाट स्वास्थ्य सामग्री, विद्युतीय सामान, तयारी पोसाक ल्याउन व्यापारी उत्साहित भएको भन्सार कार्यालयले जनाएको छ । भूकम्पअघि पनि उक्त नाकाबाट विद्युतीय सामान, तयारी पोसाक, लत्ताकपडा, स्याउ, लसुन सबैभन्दा बढी आयात हुन्थे तर भूकम्पका कारण नाका पूर्ण रूपमा बन्द हुँदा सो नाकाबाट दुई देशबीच कुनै पनि कारोबार भएन ।
व्यापारी विस्थापित र पलायन भएका थिए ।तर गत जेठ १५ गतेपछि सो नाकाबाट कारोबार हुँदा चालू आर्थिक वर्षमा एक अर्ब ३४ करोड ८६ लाख रुपियाँ राजस्व सङ्कलन भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।




प्रतिक्रिया