बढ्दै विपद्को जोखिमः तीन महिनामा ९२२ घटना, १५३ को मृत्यु


काठमाडौं, असार २८। गत वैशाखयता भएका प्राकृतिक विपद्का नौ सय २२ घटनामा परी एक सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले तयार गरेको क्षतिको विवरणअनुसार गत १ वैशाखदेखि २७ असारसम्म नौ सय २२ घटनामा परेर एक सय ५३ जनाको मृत्यु भएको हो ।

केन्द्रका अनुसार बाढी, पहिरो, चट्याङ, हावा हुरी तथा सर्पदंशजस्ता घटनाबाट यो अवधिमा सो किसिमका जनधनको क्षति भएको हो । यो अवधिमा सबैभन्दा पहिरो तथा बाढीबाट क्षति पुगेको छ । यसबीचमा ४६ करोड १८ लाख ७२ हजार पाँच सय ५० रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ ।

यसबीचमा भएका विभिन्न घटनामा परी ३७ जना बेपत्ता भएको र चार सय ६ जना घाइते भएको विवरणले देखाएको छ । यसबीचको समयमा प्राकृतिक विपद्का कारण तीन हजार आठ सय २० घरपरिवार विस्थापित भएका छन् । यस्तै, दुई हजार पाँच सय ४६ घर पूर्ण रूपमा क्षति भएको छ भने तीन सय ६१ घरमा आंशिक क्षति पुगेको राजधानी दैनिकले खवर छापेको छ ।