अब झोला र बाकसमा राखेर सहकारी चल्न दिईँदैन : मन्त्री अर्याल


काठमाडौं, ३२ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीहरु अझै पनि झोला र बाकसमा राखेर चल्न रुचाउने धेरै देखिएका छन् अब त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गरिने बताएकी छन्  । संस्थागत पूँजी ५ प्रतिशत भन्दा बढी भएका सहकारीले संस्थागत पूँजीको ५० प्रतिशत उत्पादनमूलक कार्यमा लगाउनुपर्ने बताएकी छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) को ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सहकारी ब्यवसायिकतामा लैजाउँ र रोजगार सिर्जना गर्ने खालका प्रकृतिका काम गरौं भनिरहेका बेला अब बाध्यकारी नियम ल्याएर सहकारीलाई व्यवसायिकतामा लगाउनुपर्ने मन्त्री अर्यालको भनाई थियो । ‘संस्थागत पूँजी ५ प्रतिशत भन्दा बढी भएका जतिपनि संस्था छन्, ती संस्थाको संस्थागत पूँजीको ५० प्रतिशत व्यवसायिकतामा लगाउने गरी तयारी गरिएको छ’, मन्त्री अर्यालले जानकारी दिईन् ।

संस्थागत सवलिकरणमा विशेष जोड दिँदै मन्त्री अर्यालले सहकारीले आफ्ना सदस्यहरुको हित पहिलो शर्त बनाउनुपर्ने, विपन्न वर्गलाई सहकारीमा आवद्ध गराई स्वरोजगारका अवसर दिई जिविकोपार्जनका आधार तयार गर्नुपर्नेमा जोड दिईन् ।

ब्याजको सन्दर्भमा छलफल गरेर जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारीमा सबैभन्दा कम ब्याज हुनुपर्ने हो, तर सबैभन्दा बढी भयो भन्ने गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको उनले बताईन् । सहकारी प्रविधिको प्रयोग र दक्ष जनशक्तिको आकर्षण सोचेअनुरुप पर्याप्त हुन नसकेको भन्दै अबको सहकारी क्षेत्र अनुदान वितरणबाट नभएर उत्पादन र रोजगारीमार्फत स्थापित हुने दिशातर्फ लाग्नुपर्ने मन्त्री अर्यालको भनाई थियो ।