संसदका सभाअध्यक्षहरूको पाँचौ विश्व सम्मेलन भर्चुअल माध्यमबाट सुरु


भदौ ३, काठमाडौं। संसदका सभाअध्यक्षहरुको पाँचौ विश्व सम्मेलन भर्चुअल माध्यमबाट सुरु भएको छ। अन्तर व्यवस्थापिका संघ (आईपीयू) र अष्ट्रियाको संसद (पार्लियामेन्ट अफ् अष्ट्रिया) को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालको संसदबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा अन्य दुई सांसद सहभागी छन्।

सम्मेलनमा अध्यक्ष तिमिल्सिनासँगै प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का र राष्ट्रिय सभा सदस्य डा.  विमला राई पौड्याल सहभागी छन् । प्रत्येक पाँच वर्षमा हुँदै आएको सम्मेलन यस वर्ष अष्ट्रियाको भियनामा यही अगष्टका लागि तय भएको थियो। तर, कोरोना संक्रमणका कारण यही भदौ ३ र ४ गते भर्चुअल माध्यमबाट सम्मेलन बुधबार सुरु भएको हो।

सम्मेलन सन् २०२१ मा पुनः अष्ट्रियामा नै आयोजना हुने आईपीयूको सचिवालयले जनाएको छ। सयभन्दा बढी देशका संसदका सभाअध्यक्ष नेतृत्वको टोली सहभागि रहेको सम्मेलनको मुख्य विषय मानव र पृथ्वीको शान्ति तथा दिगो विकासको बहुपक्षीय प्रभावकारिताका लागि संसदीय नेतृत्व रहेको छ।

सम्मेलनमा जलवायु परिवर्तन, सुशासन प्रबर्द्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ। सम्मेलन भर्चुअल भएकाले सहभागि राष्ट्रहरुले विषयवस्तुमा केन्द्रित भई लिखित र भिडियो सन्देश व्यक्त गरेका छन्।

नेपालको संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिखित र भिडियो सन्देशमार्फत  धारणा व्यक्त गरेका छन् ।
सो सन्देशमा तिमल्सिनाले नेपाल अहिले नयाँ संविधान निर्माण गरि दिगो विकासको लक्ष्य प्राप्तिका लागि समृद्ध  नेपाल, सुखी नेपाली को नारासहित अगाडि बढिरहेको बताए।

विश्वले कोरोनालाई छिट्टै पराजित गरि जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि नियमित हुने आशा व्यक्त गरे।

‘हाल विश्व समुदायले भोगिरहेको कोभिड-१९ को यो समय र यसपछिका लागि पनि जनप्रतिनिधिहरुको उच्चतम विधायिकी अंग संसदले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ’अध्यक्ष तिमिल्सिनाले भने-‘आर्थिक स्थायीत्व, रोजगारी सृजना र स्वास्थ्य क्षेत्रमा सृजित समस्या समाधानका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्नु संसद तथा सांसदहरूको कर्तव्य नै हो।’

अध्यक्षले नागरिकको विश्वास आर्जन गर्दै स्थानीय, राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय एवं सहकार्यका लागि अन्तर व्यवस्थापिका संघ जस्ता बहुपक्षीय संस्थासँग एकीकृत प्रयास र एकताका लागि संसद क्रियाशील हुनुपर्ने बताए।

भर्चुअल सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेज, आईपीयू अध्यक्ष ग्राब्रिएला सेभस व्यारोन, आयोजक राष्ट्र अष्ट्रियन नेशनल काउन्सिलका अध्यक्ष वोल्फग्याङ सोबोट्का र आईपीयू महासचिव मार्टिन चुङगोङले बोलेका थिए। बिहीबारसम्म चल्ने दुई दिने सम्मेलनको अन्तिममा साझा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ।