काठमाडौं, १५ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महात्मा गान्धीले मानव सभ्यतालाई महान दर्शन दिएको बताएका छन् । आज गान्धी जयन्तीमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आयोजना गरेको वेविनारमा बोल्दै उनले शान्ति र अहिंसाको लागि गान्धीबाट विश्वले महान दर्शन पाएको बताएका हुन् ।
‘महात्मा गान्धी महान् आत्मा हुन्,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘शान्ति र अहिंसाको महान दर्शन गान्धीबाट प्राप्त भएको छ । गान्धी वास्तवमै महात्मा हुन् भन्दै उनको विचारले विश्वलाई शान्ति बनाइराख्न योगदान दिएको चर्चा गरे ।
अहिंसात्मक आन्दोलनको बलले ठुला ठुला उपनिवेश समेत अन्त भएको इतिहासको व्याख्या गर्दै गान्धी विचारको महत्वबारे प्रकाश पारे ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गान्धीको विचार आतंकवाद, हिंसा र घृणा अन्त गर्ने विषयमा वैश्विक मानवकल्याणसँग जोडिएको बताएका छन् । उनले गान्धी विचारको सार्वभौमिक महत्व रहेको समेत बताए ।

‘गान्धी विचारको सार्वभौमिक महत्व छ,’ राजदूत क्वात्राले भने, ‘आतंकवाद, हिंसा र घृणा अन्त गर्ने विषयमा गान्धी विचार वैश्विक मानवकल्याणसँग जोडिएको छ ।’
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाल र भारतबीच सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन सके महात्मा गान्धीप्रति सच्चा सम्मन हुने बताए । उनले भने, नेपाल भारत सम्बन्धमा सुझबुझ र संयमताको जरुरी छ ।

नेपालको राजनीति र समाजमा गान्धीवादको ठुलो प्रभाव रहेको उल्लेख गरे । उनले भने, राजनीतिमा मूल्य मान्यता र निष्ठाको कति ठुलो महत्व हुन्छ भन्ने गान्धीजीले सन्देश दिनुभएको छ । चरित्र र नैतिकतामा आधारित आन्दोलनले जस्तोसुकै नकारात्मक शक्ति पनि परास्त हुन्छ भन्ने गान्धीजीको विचारको आधारमा उठेको आन्दोलनको सफलताले प्रमाणित गरेको बताए ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले सत्य सधै सान्दर्भिक रहेको भन्दै गान्धी विचारको महत्वबारे प्रकाश पारे । उनले गान्धी जयन्तीको अवसरमा नेपाल भारत सम्बन्ध अझ बलियो बन्दै जाने आशा व्यक्त गरे ।
राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले शान्ति र अहिंसाको मार्गकै जीत हुने बताए । उनले गान्धीको विचारको नेपालको पर्यप्रेक्षमा अझ सान्दर्भिक रहेको चर्चा गरे । गान्धीले आफ्नोपनप्रति माया गर्न सिकाएको समेत बताए । उनले भने, ‘गान्धीजीले अर्थराजनीतिमा स्वराजको विषय सिकाउनुभएको छ ।’

नागरक अगुवा सुन्दरमणि दिक्षितले गान्धीले महान धर्म सिकाएको बताए । सत्याग्रहको महत्वबारे चर्चा गर्दै उनले भने, ‘सत्य, आग्रह र अहिंसा एक अर्काबाट अलग गर्न सकिदैन ।’

सत्याग्रह तन, मन र वचनले अहिंसात्मक सोच र चिन्तनबाट मात्र सम्भव हुने बताए । उनले गान्धीले अहिंसाको हतियार प्रयोग गरेर विश्वलाई शान्तिको मार्गमा ल्याउन व्यवहारमै उतारेर विचारको प्रतिपादन गरेको बताए ।
नेपालका नेता देखि सामाजिक अगुवाहरु समेत गान्धीबाट प्रभावित भएको चर्चा गरे । गान्धी विचारको नेपालसँग गहिरो सम्बन्ध रहेको दिक्षितको भनाई थियो ।

नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दिपक अधिकारीले गान्धी विचारले आफ्नो स्वलाई जागृत गराउनुपर्ने भनेको बताए । अर्काको नक्कल गर्ने नभई आफ्नो चित्तलाई सम्झेर कर्म गर्नुपर्ने बताए ।-
तस्वीरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल




प्रतिक्रिया