प्रदेश १ को नामबारे सत्तापक्ष नै विभाजित


विराटनगर, असोज १७ । शपथ ग्रहणपछि नै मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण तत्काल गर्ने उद्घोष गरेका थिए । अरू मन्त्रीले पनि पटकपटक नामकरणको मिति घोषणा गरे । तर प्रदेशसभा गठनको तेस्रो वर्ष बित्न लाग्दा पनि प्रदेश १ को नामकरण हुन सकेको छैन ।

प्रदेशसभाको तेस्रो अधिवेशनमा सहमति जुट्न नसकेकाले प्रदेशको नामकरण थाती राखेर राजधानी टुंगो लगाइएको थियो । प्रदेशसभाले गत वर्षको वैशाखमै राजधानीको टुंगो लगाएको थियो । कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास रहने प्रस्तावमा बहुमत सदस्यको मतदान गरेका थिए ।

प्रदेश नामकरणमा सत्ता पक्षका सांसदहरूबीच नै मतान्तर छ । पाँचौं अधिवेशनसम्म नामकरणका विषयले प्रदेशसभामा प्राथमिकता पाए पनि कोरोना महामारीबीच साउन ९ गते अन्त्य भएको छैटौं तथा वर्षे अधिवेशनमा कसैले यस विषय उठाएनन् ।

यसअघि सभामुख प्रदिपकुमार भण्डारीले ०७६ वैशाख १९ गते प्रदेशको नाम र राजधानीका विषयमा प्रस्ताव दर्ताका लागि सूचना प्रकाशित गर्न प्रदेशसभा सचिवलाई निर्देशन दिएका थिए । सांसदहरूबीच सहमति जुट्न नसकेपछि प्रक्रिया अघि नबढाइएको आजको कान्तिपुर दैनिकमा खवर छ ।