परराष्ट्रमा सहसचिवको एकपदमा मात्र गर्न सकिनेमा पाँच पदमा विज्ञापन


काठमाडौं, ३० असोज । सरकारले परराष्ट्र सेवा समूहको एक जना सहसचिवको मात्र विज्ञापन खुलाउन सक्नेमा पाँच पद पठाएको रहस्य खुलेको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार परराष्ट्रमा नियमसंगत र पारदर्शी ढंगले लोकसेवामा रिक्त दरबन्दी पठाउने हो भने एक जना मात्र सहसचिव रिक्त देखिन्छ । तर सहसचिवकै रुपमा मन्त्रालयमा हाजिर भइसकेका एक सहसचिव र यही आर्थिक वर्षभित्र फर्किन लागेका अन्य ४ राजदूत सिटमासमेत बाँकी नराखी रिक्त मानेर ५ वटा सहसचिवको पद लोकसेवा आयोगमा पठाएको रहस्य खुलेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि करिब १५ दिन अघि सहसचिवको शून्य पद लोकसेवामा पठाएको थियो । तर मुख्यसचिव शंकरदास बैरागी र बढुवा हुने लाइनमा रहेका परराष्ट्रका उपसचिव तेजबहादुर क्षेत्रीले चलखेल गरेर रिक्त दरबन्दी भन्दा ४ पद बढी पठाउन लगाएको तथ्य फेला परेको हो । सहसचिवको एउटा दरबन्दी पनि केही दिन अघि राष्ट्रपति कार्यालयमा थप भएको दरबन्दी हो । गत मंगलबार सामान्यमा सुरुमा २ दरबन्दी पठाएको थियो । बेलुका ३, ५ र ८ वटा सहसचिवको विज्ञापन गर्न सामान्यको पत्र बोकेर परराष्ट्रका उपसचिव क्षेत्री आफै लोकसेवामा धर्ना कस्न गएका थिए । तर अबेर भइसकेकाले त्यो डिजाइन सफल हुन सकेन ।

परराष्ट्र मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा सहसचिवहरु कालीप्रसाद पोखरेल, जीवन श्रेष्ठ र यज्ञ हमाल अवकाश पाउने सूचीमा छन् । बैरागी मुख्य सचिवमा बढुवा भएको र सचिवमा सहसचिव भरतराज पौड्याल बढुवा भएका छन् । पौड्यालको ठाउँमा पाकिस्तानको राजदूतबाट सेवा लम्साल फिर्ता भइसकेकी छन् । त्यस्तै सहसचिव भरतकुमार रेग्मी नयाँ दिल्लीस्थित् नेपाली दूतावासको डिसिएमबाट फिर्ता भइसकेको छन्।

दुर्गावहादुर सुवेदी (बेलायतको राजदूत) र लोकबहादुर थापा (बेल्जियमको राजदूत) मन्त्रालय फर्कने तरखरमा रहेको छन् । ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेल, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकास सुवेदी तीन महिनाभित्रै मन्त्रालय फर्कने तरखरमा छन् । जर्मनीका लागि नवनियुक्त राजदूत रामकाजी खड्का र पास्कितानका लागि नवनियुक्त राजदूत तापस अधिकारीको राष्ट्रपतिबाट राजदूत घोषणा नभइ रिक्त दरबन्दी मानिँदैन ।

बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको अग्रिमो नै आएको छैन । राष्ट्रपतिबाट राजदूत घोषणा भएपछि मात्र उक्त पद पुल दरबन्दीमा जान्छ । यो हिसाबले राष्ट्रपति कार्यालयमा थप भएको सहसचिवको दरबन्दीमा एउटा मात्र सिट लोकसेवामा पठाउन मिल्ने देखिन्छ । तर, सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी अस्पताल भर्ना भएको र सचिव सूर्यप्रसाद गौतम स्वास्थ्य समस्याका कारण घरमा नै आराम गरिरहेको अवस्थामा मुख्य सचिव बैरागीले निमित्त सचिव बसन्त अधिकारीलाई दबाब दिएर आठ वटा पद पठाउन लगाएको मन्त्रालय स्रोतको भनाइ छ ।

लोकसेवा आयोगकी प्रवक्ता गिता कुमारी हुमागाँईका अनुसार लोकसेवाले सामान्यले पठाएको सूची अनुसार विज्ञापन खुलाउने गर्छ । सामान्यले पठाएको सूची अनुसार प्रतिशत निर्धारण गरेर विज्ञापन गर्नेबाहेक अन्य विषयमा प्रवेश गर्ने म्यान्डेट लोकसेवालाई हुँदैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल

पाकिस्तानको राजदूतबाट फिर्ता भएर मन्त्रालयमा जिम्मेवारी सम्हाल्न थालेको दुई साता भन्दा बढी भएपनि त्यो पदलाई रिक्त मानेर परराष्ट्रको सहसचिवमा विज्ञापन गरिएको छ । आयोगलाई यस्ता प्राविधिक कुरा थाहा नहुने भएकाले प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले यस विषयमा विस्तृत छानबिन गरेर रोक्न सक्ने लोकसेवा अधिकारीहरु बताउँछन् ।

लोकसेवा आयोग स्रोतका अनुसार सामान्यले शुरुमा परराष्ट्रको शुन्य सिट पठाएको थियो । मंगलबार मात्रै दिउँसो ५ सिट र बेलुका ८ सिटमा विज्ञापन खुलाउने पत्र सामान्यबाट लिएर गएको थियो । तर, ८ सिटमा विज्ञापन गर्ने प्रस्ताव भने आफूहरुले अस्वीकार गरिदिएको लोकसेवा आयोगका एक अधिकारीले बताए । नियमानुसार माग्न मिल्ने ओएन्डएमको १ सिट मात्रै भएपनि सामान्यले सिट संख्या पठाइसकेपसिछ लोकसेवाले रोक्न नमिल्ने ति अधिकारीको भनाइ छ ।

परराष्ट्रको पाँच सहसचिवमा, एक खुला (मधेशी) ,तीन बढुवा ९ २ जेष्ठता र अनुभव, १ कार्यक्षमता आधारमा हुने बढुवा ०, एक आन्तरिक प्रतिष्र्धा सिटका लागि लोकसेवाले बुधबार विज्ञापन गरेको छ । तीन सिट बढुवामा आउनेबित्तिकै वरिष्ठताको आधारमा तेस्रो नम्बरमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाालीका निजी सचिव तेजबहादुर क्षेत्रीको स्वतः बढुवा हुने देखिन्छ ।

परराष्ट्रले संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएन्डएम० गरेर ५ सहसचिव, २० उपसचिव र १५ अधिकृतको दरबन्दी थप्न र छेन्दुमा नयाँ महावाणिज्यदूतावास खोल्ने प्रस्ताव गरेको थियो । तर उक्त प्रस्ताव विवादमा आएपछि रोकिएको थियो । तर मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदाश बैरागी खनाल बढुवा हुनासाथ मन्त्रिपरिषद्ले राष्ट्रपति कार्यालयमा परराष्ट्र समूहको सहसचिव थप्ने र छेन्दुमा नयाँ महावाणिज्यदूतावास खोल्ने निर्णय गरेको हो ।

सामान्यले जेद्दामा रहेको राजपत्रांकित प्रथम श्रेणी प्रशासन समूह सहसचिवस्तरको दरबन्दी चीनस्थित नेपाली महावाणिज्य दूतावास छेन्दुमा स्थानान्तरण गर्ने भएकाले परराष्ट्रमा समूहमा परराष्ट्र सेवाको एक सहसचिव थप्न सहमति दिएको स्रोतको भनाइ छ ।

सरकारले प्रस्तुत गरेको २०७५ र०७६ को नीति तथा कार्यक्रमा नियोगको आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन गर्ने उल्लेख छ । प्रभावकारी नदेखिएका नियोगहरु खारेज गर्ने सरकारको नीति थियो । त्यही आधारमा पूर्व राजदूत रुद्र नेपालको संयोजकत्वमा पुनरावलोकन गर्ने समिति गठन गरको हो । तर समितिले आवश्यकताको मूल्यांकन नै नभइ दरबन्दी थप्ने र महावाणिज्यदूतावास खोल्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरुका अनुसार मुख्य सचिव बैरागीले परराष्ट्रका कर्मचारीलाई लाभ पुग्नेगरी ओएन्डएम सर्वेक्षण गराउने , विदेशस्थित नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्तामा लागेको कर मिनाहा गराउँने, सम्भव भएसम्म परराष्ट्र सेवा ऐन छुट्टै ल्याउने, संघीय निजामती सेवा ऐनमा परराष्ट्रका कर्मचारीको लागि अवशरवादी व्यवस्था राख्ने, विदेशस्थित नियोगमा उपसचिवसम्मलाई राजदूत हुने बाटो खुल्नेगरी नीतिगत व्यवस्था र नयाँ राजदूतावासहरु थप्न चलखेल थालेका छन् ।