मनोज गजुरेललाई कोरोना संक्रमण, भाईरसको हार चाँडै हुने विश्वास


काठमाडौं, ११ कार्तिक । कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले हिजो सामाजिक सञ्जाल फेशबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । गत बिहीबार आफूलाई सामान्य टाउको दुखेको र शुक्रबार ९८ डिग्री ज्वरो आएको उनले सनाएका छन् । र, शनिबार ढाडको दुखाई महसुस गरेको र आइतबार पिसिआर टेष्ट गर्दा कोभिड १९ पोजेटिभ भनेर रिपोर्ट आएको जनाएका छन् । उनले आफूले भाइरसलाई जित्ने पनि विश्वास लिएका छन् ।

उनले लेखेका छन् :
नमस्कार ?
भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ ‘पोजेटिभ’ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।
बिहिबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।
संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ । म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. Rabindra Sameer को सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा छु ।
मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेराे शरीरको जीत र भाईरसको हार झन् चाँडाे हुनेछ । धन्यबाद ।