किसानको खातामा रकम पठाउन सुरु


रौतहट, पुस ५ । जिल्लाको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडले किसानको खातामा पैसा पठाउन सुरु गरेको छ। सबैतिरबाट दबाब परेपछि उखुको बक्यौता रकम तिर्न बाध्य भएको उद्योग सञ्चालकले किसानलाई भुक्तानीका लागि ३५ करोड रूपैयाँँ पठाएको छ।

विभिन्न जिल्लाका किसानले काठमाडौं केन्द्रित संघर्ष गरिरहेको र उखु उत्पादक संघ रौतहटले गरुडाको चिनी उद्योग सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता गराएर पक्राउ पुर्जी जारी भएपछि किसानको खातामा रकम पठाउन सुरु गरेको हो। गृह मन्त्रालयले पनि किसानको पक्षमा कडाइ गरेको छ।

रौतहटमा करिब १८ हजार उखु किसान रहेका छन्। उद्योगले ६ वर्षदेखिको करिब ४१ करोड रूपैयाँँ किसानलाई तिर्न बाँकी राखेको उखु उत्पादक संघ रौतहटले जनाएको छ। गत वर्षको चैतसम्म सम्पूर्ण भुक्तानी गर्ने सम्झौता गरेको उद्योगले चर्को आन्दोलन र दबाबपछि किसानको खातामा रकम पठाउन सुरु गरेको हो।

उद्योगले आफ्नो खाताबाट शुक्रबार साँझसम्म १६ करोड ४४ लाख ७४ हजार ७ रूपैयाँँ पठाएको छ। उद्योगले पाँच हजार तीन सय किसानको खातामा रकम पठाएको जनाएको छ। ३५ करोड रूपैयाँमध्ये बाँकी रहेको रकम उद्योगको खातामा नै रहेको स्रोतको दाबी छ।

किसानले गरेको आन्दोलन तथा अन्तरक्रिया र उद्योग सञ्चालकमाथि ठगी मुद्दा दर्ता गराउँदाको परिणामस्वरूप किसानको खातामा उद्योगले शुक्रबारदेखि रकम पठाउन सुरु गरेको संघका रौतहट सल्लाहकार सफिन्द्र प्रसाद यादवले जानकारी दिए। बाँकी रकम पनि तुरुन्त पठाउन लागेको उद्योग सञ्चालकले जानकारी दिएको उनले बताए।

एक–दुई दिनमै किसानको सबै रकम भुक्तानी नभएमा रौतहटका उखु किसानले पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेका थिए। उद्योगले बाँकी रकम पनि तत्काल भुक्तानी नगरे काठमाडौंमा गएर आन्दोलन गर्ने सम्पूर्ण तयारी भएको र किसान तयारी अवस्थामा रहेको बताउँदै सल्लाहकार यादवले केही रकम किसानको खातामा पठाएको र एक–दुई दिन पर्खेर बाँकी रकम नपठाए आन्दोलन गर्ने यादवको भनाइ छ। नागरिक दैनिक

Skip This