ओलीले बनाए जम्बो केन्द्रीय समिति


काठमाडौं, पुस ८ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय समिति पुनर्गठन गरी १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ। यो समूहले २०७८ साल मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन आयोजक समिति गठन गरेको उक्त समूहका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले बताए। प्रवक्ता ज्ञवालीका अनुसार मौजुदा ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ५ सय ५६ जना थप गरिएको हो। १ सय ९६ जना थप्न बाँकी रहेको ज्ञवालीले बताए। प्रधानमन्त्री ओलीले केन्द्रीय समितिमा नाम थप गरी अनुमोदन गर्न बैठकमा पेस गरेका थिए।

ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युटबिना अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकको आधिकारिकता नहुने बताए। ‘पार्टी अध्यक्ष, महासचिव र र माइन्युटबिना पनि बैठक बस्छ र रु’, उनले भने, ‘त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन।’

उनले बालुवाटार बैठकले कसैलाई कारबाही नगरेको बरु केही जिम्मेवारी हेरफेर गरेको बताए। पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई जिम्मा दिने निर्णय बैठकले गरेको हो। ओली समूहले मंगलबारै केन्द्रीय समिति पुनर्गठन गरी नामावलीसहितको निवेदन निर्वाचन आयोगमा पेस गरेको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट