सामाजिक सुरक्षा योजनाः योगदानकर्तालाई ऋण सुविधा दिने तयारी


काठमाडौं, माघ ५। सामाजिक सुरक्षा कोषका लगानीकर्ताले अब कोषबाट ऋण सुविधा प्राप्त गर्ने भएका छन् ।कोषले लगानी कार्यविधिलाई कार्यान्वयनमा लैजान मार्गदर्शनको मस्यौदा तयार पारी ऋण सुविधा प्रदान गर्ने तयारी थालेको छ ।

कोष सञ्चालक समितिले बनाएको मार्गदर्शनलाई आगामी बोर्ड बैठकमा पेश गर्ने र त्यो पारित भएपछि योगदानकर्तालाई ऋण प्रवाह गर्न र लगानी गर्नसमेत बाटो खुल्नेछ ।कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीका अनुसार बोर्ड बैठकबाट मार्गनिर्देशन पास भएसँगै लगानी कार्यविधि कार्यान्वयनको चरणमा जानेछ ।

सरकारले केही समयअघि सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन कार्यविधि ल्याएको थियो । लगानी कार्यविधिअनुसार योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा कर्जा लिन पाउने उल्लेख छ ।

कर्जा लिँदा योगदानकर्ताले कुल लगानीको १५ प्रतिशतसम्म सापटी पाउने सामाजिक सुरक्षा कोषले बताएको छ ।सरकारले ल्याएको कार्यविधिअनुसार योगदानकर्ताले घर सापटीअन्तर्गत ७५ लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

कार्यविधिमा १५ वर्षको पारिश्रमिक बराबर सापटी दिने व्यवस्था गरिएको छ । योगदानकर्ताले स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि ३५ लाख रुपैयाँसम्म सापटी पनि पाउने व्यवस्था गरिएको छ ।

यो सापटी सुविधाका लागि कोषमा कम्तीमा ३ वर्ष योगदान गरेको हुनुपर्नेछ तर कार्यविधिमा धितो के रहने, कसले मूल्यांकन गर्ने, कर्जा लिने प्रक्रियालगायत समावेश छैन । यसैलाई स्पष्ट पार्न मार्गदर्शन जरुरी भएको कोषका प्रवक्तासमेत रहेका पन्थीले बताए ।

कोषमा हालसम्म १३ हजार ८९ रोजगारदाता तथा १ लाख ८५ हजारभन्दा बढी श्रमिक सूचीकृत छन् । योगदानकर्ताको ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा भइसकेको छ ।

त्यस्तै, कोषमा जम्मा भएको रकम पनि विभिन्न क्षेत्रमा लगानी गर्ने बाटो खुलेको छ । अहिलेसम्म योगदानकर्ताको रकम बैंकमा रहँदै आएको छ । यसले गर्दा कोषको आम्दानी बैंकबाट प्राप्त हुने ब्याजमा सीमित रहँदै आएको छ । बैंकबाहेक विभिन्न क्षेत्रमा लगानी गर्दा कोषको आम्दानी वृद्धि भई लगानीकर्ताको सुविधा वृद्धि हुने अपेक्षा गरिएको छ । कोषले सहकारी ऋण पत्र, मुद्दती, शेयर, डिवेन्चर, म्युचुअल फन्ड तथा स्थिर सम्पत्तिमा लगानी गर्न सक्ने बाटोसमेत कार्यविधिले खुलाइसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।