‘मैले बैठक जहाँ बोलाउँछु, उहाँहरु (माधव-झलनाथ) त्यहीँ आउनुपर्छ’ : प्रधानमन्त्री ओली (भिडिओसहित)


काठमाडौं, १ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीको बैठक जहाँ बोलाएपनि त्यहाँ सबै नेताहरु आउनुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले पार्टीको केन्द्रीय कमिटीको बैठक यही चैत्र ७ गते बालुवाटारमा बोलाएकोले सबैलाई आउन निर्देशन दिएका छन् ।

तर, वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालहरुले त बालुवाटारमा बोलाईएको बैठकमा कुनैपनि हालतमा नजाने भनेर भनिसक्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,”बैठक मैले जहाँ बोलाउँछु, त्यहीँ हुन्छ । बालुवाटारको बैठकमा नआउनेहरु पेरिसडाँडा जानुहोस न त । सर्वोच्च अदालतले पनि तिम्रो पार्टी बालुवाटारमा छ भन्दिएको छ । पार्टीको बैठकमा आउनुपर्यो नि । बैठकमा आउनुपर्यो अनि गल्ती भयो, त्रुटि भयो भनेर महसुस गर्नुप्यो ।”