केपी ओलीको कार्यशैली गलत छ, उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन : वामदेव गौतम


काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) का उपायक्ष वामदेव गौतमले आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि आत्मसमर्पण नगरेको र नगर्ने पनि स्पष्ट पारेका छन् । उनले गत फागुन २८ गतेको बालुवाटारमा बसेको बैठक केन्द्रीय कमिटीको बैठक नभएको र उक्त बैठकले गरेका निर्णय फिर्ता लिनैपर्ने पनि बताएका छन् ।

आज साँझ सचिवालयमार्फत नेता गौतमले आफ्नो पछिल्लो धारणा ल्याएका छन् । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेशबुकमार्फत गौतमका पछिल्लो धारणा बाहिर ल्याएका छन् । आज बसेको केन्द्रीय कमिटीले नेताहरुको अनुपस्थितिमा गरिएको कारबाहीप्रति आपत्ति जनाउँदै कुनै कारबाही गर्न नमिल्ने धारणा राखेका छन् । उनले आफू पार्टी एकताको अभियानमा रहेकोले त्यो उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहनेपनि विश्वास दिलाएका छन् ।

गौतमको सचिवालयले यस्तो लेखेको छ :

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमको धारणा ।

१) फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन। त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ।

२) पार्टी भित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।

३) केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन। तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन।

४) म पार्टी एकता राष्ट्रीय अभियानमा छु। उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने छ।