मेरो पार्टीको अध्यक्ष भएर ओलीले गरेका बर्बादीका लागि म दुनियाँसँग माफी माग्छु : घनश्याम भुसाल


काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) का नेता घनश्याम भुषालले पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि संसारमा या त चाकर छन् या शत्रु भन्दै कडा टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले आफूलाई ६ महिना निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत भुषालले यस्तो बताएका हुन् । उनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले धेरै राम्रो पार्टीलाई गुटमा बदलेको र अहिले उक्त गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको पनि टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्–”असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु । उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।”