बहुमत पुर्‍याउन ठाकुरले गरे १७ जना मनोनित


काठमाडौं, असार २। कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन्। ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन्।

ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६ जना नेतालाई कार्यकारिणी समितिको सदस्य बनाएका छन्। ठाकुरनिकट स्रोतले दिएको जानकारी अनुसार ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यहरूलाई हटाएर त्यसको ठाउमा आफूनिकट नेताहरूलाई कार्यकारिणी समितिमा राखेका छन्।

जसपाका दुई अध्यक्ष रहने व्यवस्था भने उनले कायमै राखेका छन्। उपेन्द्र यादवको ठाउँ उनले खाली राखेका छन्। पहिलो अध्यक्षमा आफ्नो नाम राखेका छन् भने दोस्रो अध्यक्षमा नाम खाली राखेका छन्।

ठाकुरले थपेको कार्यकारिणी सदस्यहरूमा डा विजयसिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजीव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डललगायत छन्। कार्यकारिणी समितिमा थपिएका अरगरैया, श्रीवास्तव, तथा इकबाल वर्तमान सरकारका मन्त्री पनि हुन्।

ठाकुर पक्षलले थप गरेको कार्यकारिणी समितिको सूचीमा ठाकुरले मात्र हस्ताक्षर गरेका छन्। नागरिक दैनिकबाट