भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी


मेलम्ची, असार ७ । मेलम्ची खोला सधैं शान्त रहन्थ्यो। बरु सँगैको इन्द्रावती नदी बर्खामा कहिलेकाहीं उर्लिएर मात्तिन्थ्यो। स्थानीयलाई कहिल्यै दुःख नदिईकन शान्तसँग बग्ने छवि बनाएको मेलम्ची खोला यो वर्षको मनसुन प्रारम्भ हुनासाथ बहुलायो। हेलम्बु–मेलम्ची उपत्यका तहसनहस बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले हेलम्बु हुँदै मेलम्चीसम्म विनास निम्त्याएको विज्ञ बताउँछन्। विज्ञका अनुसार दायाँ–बायाँ अग्ला पहाडी टाकुराको काखमा उपत्यका जसरी बसेको भ्रेमाथाङ भूकम्पले चिराचिरा परेको थियो। ‘भूकम्पले चिराचिरा भ्रेमाथाङको जमिन वर्षाको पानी छिरेर स्वात्तै बग्यो,’ १० वर्षदेखि मेलम्ची जलाधार क्षेत्रको अध्ययन गरिरहेका वातावरणविज्ञ डा। रविनराज निरौलाले भने।

तल्लो तटीय क्षेत्र जोखिममा रहेकाले हेलम्बुको नाकोतेदेखि मेलम्ची हुँदै काभ्रेको दोलालघाटसम्म मनसुन अवधिभर बसोबास नगर्न विज्ञ सुझाव

मेलम्चीमा बाढी आउनुभन्दा अघिदेखि हिमाली क्षेत्र भ्रेमाथाङ उपत्यका र आसपासमा वर्षा भइरहेको निरौलाले बताए। ‘वर्षाले त्यस क्षेत्रमा भलबाढी आइरहेको थियो। जमिनका चिरा र धाँजामा भलबाढी छिरेपछि पहिरो गयो,’ उनले भने। उनका अनुसार भ्रेमाथाङको चौडाइतिरबाट भीमकाय पहिरो गएको छ।

हेलम्बु गाउँपालिका–१ मा पर्ने भ्रेमाथाङ समुद्र सतहबाट तीन हजार पाँच सय मिटर उचाइमा छ। हेलम्बुको अन्तिम बस्ती मेलम्चीघ्याङबाट सात किलोमिटर उत्तरमा रहेको भ्रेमाथाङ दुई किलोमिटर लम्बाइ र डेढ किलोमिटरसम्म चौडाइमा फैलिएको छ। दायाँ–बायाँ अग्ला पहाडबीच उपत्यका जस्तै समथर रहेको भ्रेमाथाङको चौडाइतिरबाट २५ प्रतिशत भूभाग पहिरो बनेर खसेको विज्ञ निरौला बताउँछन् ।

भ्रेमाथाङ चरन क्षेत्र थियो। त्यहाँ मेला पनि लाग्थ्यो। हिउँदमै पुग्न मुस्किल हुने भ्रेमाथाङमा अहिले चरन खोज्दै गाईबस्तु लैजाने र तिर्थ जाने चलन हराएको छ। मेलम्ची खोलाको पानीको स्रोत हिउँ हो। हिमाली क्षेत्रबाट पग्लेर आउने हिँउ र वर्षाको भलबाढी भ्रेमाथाङ भएर झरना जसरी ठाडै बग्छ। निरौलाका अनुसार भ्रेमाथाङ क्षेत्रमा निकै साना हिमताल छन् तर हिमपहिरो छैन। नागरिक दैनिकबाट

Skip This

Omoda E5 Pro