सेयरमा बैंकको लगानी ९४ अर्बमाथि


काठमाडौं, असार ९ । बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा वृद्धि गर्दै गएका छन्। नेपाल राष्ट्र बैंकले पछिल्लो पटक (वैशाखसम्म) प्रकाशित गरेको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको सेयर धितोमा गरेको लगानी ९४ अर्ब रूपैयाँ बढी पुगेको छ।

२०७७ चैतसम्म वित्तीय संस्थाको सेयरमा लगानी ९१ अर्ब ८४ करोड ४० लाख रूपैयाँ थियो। वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाले साढे दुई अर्ब रूपैयाँ सेयर धितोमा लगानी गरेपछि यस्तो कर्जा बढेको हो।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सबै वाणिज्य बैंकहरूले ८१ अर्ब ६१ करोड २० लाख रूपैयाँ तथा विकास बैंकहरूले १० अर्ब १८ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५४ करोड ८० लाख रूपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन्। चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ७८ अर्ब ९९ करोड ४० लाख, विकास बैंकहरूले १० अर्ब ३२ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५७ करोड ९० लाख रूपैयाँ सेयर धितोमा लगानी गरेका थिए।

कोरोना महामारी फैलिएपछि बैंकिङ प्रणालीको अधिक तरलता सेयर धितोमा लगानी हुन थालेको थियो। खासगरी उत्पादनमूलक क्षेत्रबाट कर्जाको माग आउन नसकेपछि वित्तीय संस्थाले सेयर लगानीमा जोड दिन थालेका हुन्। एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले अधिक तरलताको व्यवस्थापनका लागि पनि वित्तीय संस्थाको ध्यान सेयर कर्जातर्फ बढेको बताए।

‘बैंकमा पैसा त्यत्तिकै रहनुभन्दा सेयरमा लगानी गर्दा अल्पकालीन समयलाई भए पनि केही ब्याज त आउँछ नि १’ उनले नागरिकसँग भने, ‘लगानीका अन्य क्षेत्रबाट माग आउन थालेपछि सेयर कर्जा त्यत्तिकै कम भएर जान्छ।’ उनले बैंक तथा वित्तीय संस्थाको चाहना पनि सेयर कर्जामा जोड दिने नभएको प्रस्ट पारे। नागरिक दैनिकबाट

Skip This

Omoda E5 Pro