इक्वेडरको जेलमा दंगाः टाउको काटिएको देखि शव चिन्नै नसकिनेसम्म


एजेन्सी, १४ असोज । इक्वेडरको जेलमा भएको दंगामा ११६ जनाको ज्यान गयो । मङ्गलबार भएको दंगा बुधबार समय चल्यो । ४ सय प्रहरी आधुनिक हतियार सहित पसेपछि नियन्त्रणमा आएको थियो ।

जेलभित्र दुई समूहबीच भिडन्त भएको थियो । एउटा समूह अर्को समूहलाई आक्रमण गर्न जेलको प्वालबाट छिरेको थियो ।

दंगामा धारिलो हतियार, बन्दुक र ग्रिनेडको समेत प्रयोग भएको पाइएको छ । ६ जनाको टाउको काटिएको छ ।

घटनामा लागूऔषधका कारोबारी समूहबीच भिडन्त भएको खुलेको छ । यो हत्याकाण्ड जेलबाहिरबाट निर्देशित रहेको हुनसक्ने आधारमा अनुसन्धान बढाइएको छ । यसमा मेक्सिकोको शक्तिशाली सिनालोआ ड्रग कार्टलको संलग्नताको आशंका गरिएको छ । सिनालोआलाई मेक्सिकोकै अर्को ड्रग कार्टल जेलिस्को न्यु जेनेरेशन कार्टलले चुनौती दिएको हुनसक्ने अनुमान गरिएको छ ।

जेलमा आफन्त मारिएको र घाइते भएको सूचना पाएपछि कतिपय व्यक्ति पुगेका छन् । कतिपय शव चिन्नै नसकिने गरी जलेको जनाइएको छ । शव चिन्न निकै दिन लाग्नसक्ने देखिएको छ । घटनामा आफन्त परेको या नपरेको बुझ्न तस्बिर र भिडियोसमेत पठाएका छन् ।