काठमाडौं, १५ असोज । मेगा बैंक नेपाल लिमिटेडले रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मेगा बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकको अनुसार गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो ।
बैंकको अनुसार वित्तीय साक्षरता कार्यक्रममार्फत धान, दाल तथा मकै खेतीको पकेट क्षेत्रको रुपमा रहेको गुजरा, रौतहटका किसानहरुलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्र्तक्रिया समेत गरेको छ ।
कार्यक्रममा मेगा बैंकका माइक्रो बैंकिङ्ग विभाग प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ्ग सेवा सुविधाहरु, बचत, ऋण, रेमिटान्स, वचत गर्ने उपायहरु, वचत तथा ऋणको महत्वकोे बारेमा जानकारी दिए ।
नेपाल कृषिप्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि ब्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनीहरुले जोड दिए ।
उर्वर नेपालसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।
साथै, मेगा बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरुबाट खरिद गर्न सक्नेछन् । किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा हो, जसले किसानहरुलाई बैंकिङ्ग साना कर्जा कारोवार गर्न सहज र सरल भएको छ ।




प्रतिक्रिया