माओवादीले आज मन्त्रीको नाम सार्वजनिक गर्ने, स्थायी कमिटी बैठक बस्दै


काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने मन्त्रीहरुको नाम आज सार्वजनिक गर्ने भएको छ । त्यसको लागि अहिले दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम फाईनल गरिने र सार्वजनिक गरिने एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अध्यक्ष पुष्पकमल दाहालले आज मन्त्रीहरुको नाम दिने बताएका थिए । माओवादीबाट अहिले जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री छन् । अब माओवादीबाट चार जना मन्त्री बन्ने बताईएको छ ।

त्यस्तै, आजको बैठकले अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्व पनि चयन गर्ने जनाईएको छ । माओवादीबाट अहिले मन्त्री बन्नेहरुको चर्चामा देवेन्द्र पौडेल, अमनलाल मोदी, शिवकुमार मण्डल, हरिबोल गजुरेललगायतको नाम छ । file photo