प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने समाचारमा कुनै सत्यता छैन् : कानूनमन्त्री कार्की


काठमाडौं, २२ असोज । सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालले उठाएका प्रश्नमा यस्तो जवाफ दिएका हुन् ।

उनले भने,‘माननीय सदस्यले प्रधानन्याधीशले सरकारमा भाग मागेको भन्ने कुरा पनि उल्लेख गर्नुभएको छ । म यहाँलाई यो सम्मानित सदनमार्फत आग्रह गर्न चाहन्छु यसमा कुनै सत्यता छैन् । र, यस ििकसमको भ्रममा नपर्नको निम्ति म माननीयजीलाई आग्रह गर्दै मेरो भनाई अन्त्य गर्न चाहन्छु ।’

सरकारले प्रतिनिधिसभाको बैठकमा संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता गर्ने प्रस्ताव प्रस्तुत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो प्रस्ताव प्रस्तुत गरेका हुन् । एमालेको नाराबाजी र अवरोधका बीच सो विधेयक फिर्ताको प्रस्ताव पेश गरेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा पेश भएको सो विधेयक सरकारले फिर्ता लिन लागेको हो ।