काठमाडौं, ११ कार्तिक । विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले आफूहरु माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न लागेको भन्ने समाचार गलत भएको बतएका छन् । सामाजिक सञ्जालमा माधव नेपालसँग भेटेको तस्बिर समेत सार्वजनिक गर्दै उनले उक्त समाचारको खण्डन गरेका हुन् ।
पाण्डेले गलत समाचारको भ्रममा नपर्नसमेत आग्रह गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–
गलत समाचारको भ्रममा नपर्नुहोला ***
एउटा मिडियाले म लगायत विवेकशील साझा पार्टीका केहि साथीहरूले अघिल्लो हप्ता नेकपा (एस)का अध्यक्ष माधव नेपालजीलाई भेटेको तस्बिरलाई गलत तरिकाले प्रस्तुत गरेर पार्टी प्रवेश गर्न लागेको भन्ने गलत र तथ्यहिन समाचार बनाउनुभएछ। यो समाचार गलत हो। म/हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ। अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रिय राजनीतिबारे छलफल गरेका छौँ। सुझाव दिएका छौँ।
हरेक भेटमा हरेक नेताहरूसँग नागरिकको मुद्दामा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल गर्छौँ। जुन सामान्य कुरा हो। केहि दिन अघि एउटा राजावादी पार्टीका नेतासँग भेट भएको थियो। त्यो भेटमा पनि हामी कसरी नागरिकको जीवनस्तरसँग जोडिएका विषयमा सँगै देशको लागी काम गर्न सकिन्छ भनेर छलफल भएको थियो। कुनै फोटो मिडियामा आउँछ, कुनै आउँदैन।
वैकल्पिक राजनीति यति सस्तो र यति कमजोर छैन। विवेकशील आन्दोलनलाई सिद्ध्याउन केहि/कोही लागेका छन्। सचेत रहौँ है। कोही साथीहरू पनि भ्रममा नपर्नु होला। विवेकशील साझाको आन्दोलन अब झन् सशक्त भएर अघि बढ्ने छ। विचार मिल्ने दलहरुसँग आवश्यक सहकार्य गर्नेछ। राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने प्रोग्रेसिभ लोकतान्त्रिक शक्ति बन्नेछ। तपाईँको जानकारी र जिज्ञासाका लागि पार्टीको केन्द्रीय सूचना तथा सञ्चार विभाग उप-प्रमुख हरीश प्रसाद ( ९८६५९३६४७७ ) भट्टसँग बुझ्न सक्नुहुन्छ।




प्रतिक्रिया