सरकारले जनअपेक्षाका आधारमा काम गर्छ : मन्त्री खड्का


गण्डकी, १५ कात्तिक: गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको बताएका छन् ।

महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले वर्तमान गठबन्धन सरकारले जनमुखी काम गरेर प्रदेशलाई समृद्घ बनाउने गरी काम गरिरहेको बताए । मन्त्री खड्काले पोखरामा रहेका गुफा तथा पर्यटकीयस्थलको विकासका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने र छुट्टै अधिकार सम्पन्न समिति बनाएर काम थाल्ने तयारी गरिरहेको जानकारी दिए ।

महेन्द्र गुफाको विकासका लागि सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले थप बजेटका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको स्पष्ट पार्दै पर्यटन क्षेत्रमा बढ्दो आर्थिक गतिविधिबाटै समृद्घि प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका प्रमुख सिडिइ डा महेन्द्र बानिया, विन्ध्यवासिनी माविका सहायक प्रअ रामबहादुर बानिया, विन्ध्यवासिनी क्याम्पसका अध्यक्ष दानबहादुर बानिया, समितिका संयोजक गुरुदत्त भट्टराई, पोखरा–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, नेपाली कांग्रेसका वडा सभापति अमृत शर्मा तिमिल्सिना, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सचिव यदुनाथ वञ्जरा, समाजसेवी गोविन्दबहादुर बस्नेत, समितिका सदस्य केशव बस्नेतलगायतले चाडपर्वले सामाजिक एकता र सद्भाव कायम गर्ने विश्वास व्यक्त गरे ।-रासस

Skip This