काठमाडौं, २३ चैत्र । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बिहिबार मन्त्रिपरिषद्को बैठकबाट नियुक्त गर्ने तयारी भएको छ । निर्वाचन आचारसंहिता लागू हुनु अघि नै सरकारले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्न लागेको हो ।
टेलिकमको प्रबन्ध निर्देशकमा खुल्ला प्रतिष्पर्धाबाट आवेदन आव्हान गरेकोमा आवेदकहरुमध्येबाट दरखास्त स्वीकृत भएका ९ जनामध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश हुनेछ । २२ र २३ चैत्रका बीच दरखास्त स्वीकृत भएका मध्येबाट अन्तवार्ता र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि हरेक प्रतिष्पर्धीलाई आधा घन्टा तोकिएको थियो ।
सबैको प्रस्तुतीबाट तीनजनालाई छानेर सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्मा नाम सिफारिश गर्न लागेको बुझिएको छ ।
प्रतिष्पर्धामा रहेकाहरुमध्ये संगीता पहाडी अर्याल, बुद्धि प्रसाद आचार्य, सुनिल पौडेल र सुरज सिंह थापा बलियो उम्मेदवार रहेको बुझिएको छ ।
संगीता अर्याल एकमात्र महिला प्रतिष्पर्धी हुन् । उनी नेपाल टेलिकमको प्रमुख व्यवसायिक अधिकृत हुन् । टेलिकमको प्राविधिक कर्मचारी समेत रहेकी उनको त्यहाँ लामो अनुभव छ । पूर्व न्यायाधीश लक्ष्मण अर्यालकी छोरी संगिता राजनीतिक रुपमा डेमोक्रयाट्स हुन् । उनका पिता अर्याल अन्तरिम संविधान २०६३ का संयोजक थिए । अर्कोतर्फ, दूरसञ्चार इञ्जिनियरिङ्गमा स्तानक छिन् । अर्याललाई प्रबन्ध निर्देशक बनाउन बालुवाटार सकारात्मक रहेको बुझिएको छ ।
सुरज सिंह थापा पनि नेपाल टेलिकमकै कर्मचारी हुन् । उनी मानव संशाधन फाँटका प्रमुख हुन् । तर, थापा प्राविधिक क्षेत्रका होइनन् । थापालाई बनाउन राप्रपाबाट काँग्रेस प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा सक्रिय छन् । तर, प्राविधिक ज्ञानको कमी भएकाले उनलाई नियुक्ति पाउन मुश्किल रहेको बुझिएको छ । टेलिकममा प्राविधिक अनुभव भएकोमा जोड दिने गरिएको छ । यसकारण उनको नियुक्तिमा प्रश्न उठाउने ठाउँ देखिएको छ ।
सुनिल पौडेल पनि प्रबन्ध निर्देशको दौडमा छन् । उनी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सीआइडीसीमा नियुक्त पाउन सकेका थिए । गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा सुनिल पौडेल सीआइडीसीमा, विकल पौडेल सुरक्षण मुद्रण केन्द्रमा र टेलिकममा डिल्ली आचार्यलाई ल्याएर संगठित समूह नै चलाइएको थियो । एमाले नेता बास्कोटाले यी तीनजनामार्फत् काम गरेका थिए । विकलको योजनामा विवादास्पद प्रिन्टिङ प्रेस खरिद समेत भएको थियो । यसमा बाँस्कोटा विवादमा मुछिएक थिए ।
पौडेलद्वय र आचार्य तीनैजना एमाले कार्यकर्ता जसरी लागेर प्राविधिक क्षेत्रमा प्रभाव बनाउन सकेका थिए । बाँस्कोटासँग नजिक रहेका सुनिल पौडेलले विभिन्न सूत्रलगायत बालुवाटारसम्म प्रभाव बनाउन खोजेका छन् । उनी विभिन्न माध्यमले प्रधानमन्त्री देउवाकी पत्नी आरजु देउवासम्म पुग्न खोजेको बुझिएको छ ।
डिल्ली आचार्य प्रबन्ध निर्देशकबाट हटेपछि फेरि तल्लो पदमा टेलिकममै रहेका छन् । अब सुनिल पौडेललाई प्रबन्ध निर्देशक बनाएर डिल्लीसँग समन्वय गरी काम गराउन एउटा शक्ति नै लागेको छ । विशेषगरी एमालेभित्रको शक्ति त्यो योजनामा लागेको विश्वस्त स्रोतले जनाएको छ । गोकुल बाँस्कोटा निकट पौडेलद्वय र आचार्यले टेलिकमलगायत प्राविधिक क्षेत्रमा विभिन्न रणनीतिक चालेर प्रभाव कायमै राख्न खोजेका छन् । तर, सुनिल पौडेल विगत पृष्ठभूमिका कारण रोकिने बुझिएको छ । उनले अगाडि बढ्न बालुवाटारको एउटा समूहलाई प्रभावमा पार्न खोजिरहेको छ ।
यसैगरी, अर्जुन बाबु ढकाल, अमलेन्दु नारायण सिंह, दिपकबहादुर शाही, नगेन्द्रकुमार दास, प्रदीप राज उपाध्याय र बुद्धि प्रसाद आचार्य पनि प्रतिष्पर्धामा छन् । आचार्य टेलिकमको पूर्व प्रबन्ध निर्देशक हुन् । उनी डा. मीनेन्द्र रिजाल सञ्चारमन्त्री हुँदा नियुक्ति पाउन सफल भएका थिए । तर, प्राविधिक क्षेत्रको ज्ञानको कमीका कारण आचार्यको कार्यकालमा राम्रो हुन नसकेका गुनासाहरु आएका थिए ।
टेलिकमको कर्मचारी बाहिरबाट ल्याउने प्रयासहरु जहिले पनि चल्ने गरेको छ । यसरी नियुक्ति पाउने गरेका प्रबन्ध निर्देशकहरुको कार्यक्षमतामाथि प्रश्न उठ्दै आएको छ । टेलिकमलाई बुझ्न महिनौं लाग्ने, कर्मचारीहरुबाट असहयोग देखि प्राविधिक ज्ञानको कमीले कतिपय प्रबन्ध निर्देशकले काम राम्रो गर्न नसकेर असफल सावित हुने गरेको इतिहास छ ।
यसैगरी, टेलिकमका कर्मचारीहरुले दूरसञ्चार क्षेत्रकै विज्ञलाई प्रबन्ध निर्देशक नियुक्त गर्नुपर्ने माग राखेका छन् । विगतमा दूरसञ्चारको प्राविधिक ज्ञान नभएकालाई नियुक्त गर्दा समस्या आएको भन्दै यस्तो माग राखेका हुन् । यसकारण पनि दूरसञ्चार विज्ञलाई नै ल्याउने गरी सरकारले आवश्यक तयारी गरेको बुझिएको छ ।




प्रतिक्रिया