व्यक्तिको जग्गा वायु गुठीमा, किनबेच तथा बैङ्कसँग ऋण लिन रोक


काठमाडौं, चैत २६। वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् ।

धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डमजोङ गाउँपालिकाको वडा नम्बर ५ तथा गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा यस्तो समस्या देखिएको छ । दुवै जिल्लामा २०३२ सालमा जग्गाको नापी भएको थियो ।

जग्गा नापी भएर लालपुर्जा वितरण गरेपछि वार्षिक तिरो तिर्न जिल्ला मालपोत कार्यालय जानुको सट्टा स्थानीय ज्यामरुङमा रहेको तत्कालीन श्री ५ को वायु गुठीमै तिरे पनि हुने सुविधा लालपुर्जा धनीलाई दिइएको थियो ।

त्यतिखेर ठकुरी परिवारको पूजा गर्ने स्थान भएकाले त्यसलाई वायु देवता गुठी भनिएको थियो । स्थानीयले तिरेको तिरोलाई शाह परिवारले पूजाखर्चका रूपमा प्रयोग गर्ने गरेका थिए । धादिङ ज्यामरुङका ईश्वरीबहादुर लम्सालले व्यक्तिको नाममा लालपुर्जा भए पनि वायु गुठीलाई तिरो तिर्ने भएकाले लालपुर्जाको एक छेउमा ‘वायु गुठी’भनेर लेखिएको जानकारी दिए।

माओवादी द्वन्द्वकालमा ज्यामरुङ दरबारमाथि आक्रमण भएपछि गुठी अलपत्र भएको थियो । त्यसपछि दुवै जिल्लाका जग्गाधनीले २०५५ सालदेखि सम्बन्धित जिल्ला मालपोत कार्यालयमै गएर तिरो तिर्न थाले । २०७४ सालमा मालपोत कार्यालयले जग्गालाई कम्प्युटर प्रणालीमा प्रवेश गराउने प्रणालीको सुरुवात गरेको थियो ।

त्यतिखेर ती जग्गालाई गुठीको नाममा रहेको जनाउँदै मालपोत कार्यालयले भोगचलन गरिरहेका व्यक्तिलाई मोहीका रूपमा राखेको लम्सालले बताए।

आफूहरूलाई जानकारी नगराई मालपोत कार्यालयले व्यक्तिगत जग्गालाई गुठीमा परिणत गरेपछि दुवै जिल्लाका पीडितले २०७४ सालदेखि श्री ५ को वायु गुठी समस्या समाधान समिति गठन गरेर आन्दोलन गरिरहेका छन् ।

आफ्नो जग्गा गुठीको नाममा गएपछि जग्गाधनीले किनबेच तथा बैङ्कसँग ऋण लिन नपाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।