विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ


काठमाडौं, २० जेठ । महोत्तरीको श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान घुससहित पक्राउ परेका छन् ।

विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा अख्तियारले घुससहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।

मण्डल र पासवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा जलेश्वर न.पा.–२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट आज बिहीबार नियन्त्रणमा लिएको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।