नयाँ र पुरानो पुस्ताबीच मुख्य प्रतिस्पर्धा


काठमाडौं, कात्तिक १६ । नेकपा (एमाले)का नेता ईश्वर पोखरेल २०६१ सालमा राजाको प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सहभागी हुँदै गर्दा प्रदीप पौडेल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारीमा थिए।

त्यतिबेला पौडेल २०५९ असोज १८ को राजाको कदमलाई प्रतिगमन भन्दै काठमाडौंका सडकमा नारा लगाइरहेका थिए। पोखरेल अहिले एमालेको वरिष्ठ उपाध्यक्ष र पौडेल कांग्रेस केन्द्रीय सदस्य छन्। ठूला राजनीतिक दलबाट पुरानो पुस्ताका पोखरेल र नयाँ पुस्ताका पौडेल प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गर्न पौडेल नयाँ ऊर्जा, सम्भावना र सपनासहित जुटेका छन् भने संसदीय राजनीतिका अनुभवी पोखरेल आफ्नो जितलाई निरन्तरता दिन सक्रिय छन्। पोखरेल र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको यस क्षेत्रमा रन्जु दर्शनासहित अढाइ दर्जनजति उम्मेदवार छन्।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले उम्मेदवार पोखरेल आफ्नो जित हुने बुझाइमा छन्। तर २०६४ पछिका दुई चुनाव कांग्रेस नेता नरहरि आचार्यसँग हारेका पोखरेल ढुक्क हुने अवस्थामा भने छैनन्। नयाँ जोश, सम्भावना र सपनासहित चुनावी मैदानमा उत्रिएका पौडेललाई युवासँगै पाका पुस्ताको पनि समर्थन जाँदा स्थानीय तहको निर्वाचन परिणाम उल्टिन सक्ने आकलन पनि छ।

पौडेल सत्ता गठबन्धनका उम्मेदवार हुन्। उनलाई गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) समेतको समर्थन छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलहरूले पोखरेललाई मत दिने उनी पक्षधरको बुझाइ छ। तर राप्रपाका कार्यकर्ता भने आफ्ना उम्मेदवारलाई एमालेले तीनवटा निर्वाचन क्षेत्रमा मात्र सघाउने भनेपछि असन्तुष्ट छन्। नागरिक दैनिकबाट