काठमाडौं, पुस १ । मुलुकमा कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपियाँ बराबरको मुलुकको कुल विदेशी मुद्रा सञ्चिति रहेको छ ।
यो गत असारको तुलनामा ११ अर्ब ६६ करोड रुपैयाँ अर्थात् २ दशमलव ५ प्रतिशतले बढेको हो । असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर थियो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (चालू आर्थिक वर्षको पहिलो चार महिनासम्म) प्रतिवेदनअनुसार गत भदौ महिनामा ११ खर्ब ९८ अर्ब १६ करोड रुपैयाँ र असोजमा १२ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ बराबर थियो । असोजको तुलनामा कात्तिक महिनामा विदेशी विनिमय सञ्चिति ३६ अर्ब ७६ करोड रुपैयाँले घटेको छ ।
मुलुकको विदेशी विनिमय सञ्चिति कात्तिकमा नौ अर्ब ६३ करोड अमेरिकी डलर रहेको छ । यो गत असारको तुलनामा नौ करोड र असोजको तुलनामा १५ करोड अमेरिकी डलरले बढी हो ।
चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रमा रहेको विदेशी मुद्रा सञ्चितिले ९.७ महिनाको वस्तु र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया