मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं, पुस २८ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

आजै सत्ता साझेदार दलहरुको बैठक पनि बस्दै छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आजको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिएसँगै सत्ता गठबन्धन मन्त्रिपरिषद् विस्तारमा लागेका छन् ।

आजको बैठकमा यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालयको जिम्मेवारी दिनेबारे एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच छलफल हुने जनाइएको छ ।

प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए ।