पत्रकारिताका मूल्य र मान्यतालाई सम्मान गर्न आग्रह


काठमाडौँ,३ माघ । दक्षिण एसियाली मुलुकका पत्रकारहरूको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को भारतमा सम्पन्न ‘राष्ट्र निर्माणमा पत्रकारको भूमिका’ विषयक दुईदिने सञ्चार सम्मेलनले सात बुँदे दिल्ली घोषणापत्र जारी गरेको छ ।

भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयको सहकार्यमा यही जनवरी ११ र १२ मा सम्पन्न सम्मेलनले पत्रकारिता तथा आमसञ्चारका मूल्य—मान्यता, आचारसंहिता र सिद्धान्तको सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रवाहित हुने सबै सन्देशलाई आवाजविहीनहरूको आवाज बनाउँदै प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रताका लागि प्रतिबद्धता व्यक्त गरेको छ । सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका हरेक पक्ष तथा पत्रकारको पेसागत सन्तुष्टी र सुरक्षा सुनिश्चित गर्न सार्क राष्ट्रका सबै सरकारलाई आग्रह गरिएको मञ्चका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले जानकारी दिए ।

पत्रकारको अधिकारको सम्मान, आफूले प्रकाशन गर्न चाहेको सञ्चारमाध्यमका लागि सूचना सङ्कलन र सम्प्रेषण, सार्क क्षेत्रका सबै देशमा उदाउँदो आमसञ्चार र पत्रकारिता उद्योगलाई राज्यको चौँथो अङ्गको रूपमा स्थापना गर्न पनि माग गरिएको छ ।

सार्क देशका सबै कर्पोरेट एजेन्सीलाई मूल्य, मान्यता र नैतिकताका साथ काम गर्न, सामाजिक परिवर्तनका लागि जनमत र स्वाधीनतासहितको राष्ट्र निर्माणको चिन्तन विकास गर्नाका साथै विकास, प्रगति तथा स्थायित्वका लागि सार्क मुलुकका सबै सरकारलाई यस क्षेत्रमा दिगो शान्ति कायम गर्न सम्मेलनले आग्रह गरेको छ ।

करिब ५० समानान्तर विषयगत सत्रमा कार्यपत्र प्रस्तुत भएको सो सम्मेलनको उद्घाटनसत्रमा भारतीय जनसञ्चार संस्थानका महानिर्देशक प्राडा सञ्जय द्विवेदी तथा विश्वविद्यालयका उपकुलपति प्राडा आरके सिन्हा, समापनसत्रमा भारतको केन्द्रीय उद्योगमन्त्री डा महेन्द्रनाथ पाण्डेले सम्बोधन गरेका थिए ।

सम्मेलनमा मञ्चका महासचिव मोहम्मद अब्दुर रहमानले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन पारित भयो । मञ्चको भारत शाखामा डा अनिरुद्ध सुधाम्शुको नेतृत्वमा कमिटी पुनः गठन गरेको छ । अन्तर्राष्ट्रिय समितिको रिक्त सदस्यमा भारतका पत्रकार प्राडा स्मृता मिश्रलाई चयन गरेको छ । सम्मेलनमा नेपाल शाखाका संयोजक प्रकाश सिलवालको नेतृत्वमा २० नेपाली पत्रकारका साथै श्रीलङ्का, बङ्गलादेश तथा भारतका विभिन्न प्रान्तका पत्रकार गरी करिब दुई सय सञ्चारकर्मीको सहभागिता थियो । मञ्चले आगामी वर्षको सम्मेलन बङ्गलादेशको ढाकामा आयोजना गर्ने जनाएको छ । रासस