काठमाडौं, माघ ५ । तीन वर्षयता सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा ह्रास आइरहेको छ। सरकारले बर्सेनि बजेटको आकार र लक्ष्य वृद्धि गर्दै आइरहे पनि पुँजीगत खर्च गर्ने क्षमतामा भने चरम निरासा देखिएको छ। सरकारले बजेट वक्तव्यमा पूर्वाधार लक्षित बजेटलाई निकै प्रथामिकता दिएको घोषणा गर्दै आइरहे पनि खर्च गर्ने क्षमतामा भने बर्सेनि कमजोर देखिँदै आइरहेको छ।
अर्थमन्त्रालयले सार्वजनिक गर्दै आइरहेको आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनले पनि सरकारको पुँजीगत खर्च कार्यक्षमतामा प्रश्नचिह्न उब्जिँदै आइरहेको छ। विगत तीन वर्षको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनले पनि सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा ह्रास भइरहेको देखाउँछ। सरकारी तथ्यांक अनुसार विगत तीन वर्षको ६ महिनाको अवधिमा सरकारले मुस्किलले १४ प्रतिशतको हाराहारीमा मात्रै पुँजीगत खर्च भएको देखिन्छ। यसले पनि सरकारको खर्च गर्ने क्षमतामा गम्भीर प्रश्नचिह्न उब्जिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आधा वर्षको अवधिमा पनि मुस्किलले १४ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको देखिन्छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषण तथ्यांक अनुसार चालु आवको ६ महिनाको अवधि अर्थात् (माघ ३ गतेसम्म) को अवधिमा १४.०५ प्रतिशत अर्थात् ५३ अर्ब ४५ करोड रूपैयाँ मात्रै पुँजीगत खर्च गरेको छ। सरकारले चालु आवको बजेटमा तीन खर्ब ८० अर्ब पुँजीगत खर्च गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ तर ६ महिनाको अवधिमा १४ प्रतिशतमै रुमल्लिएको सरकारले आगामी ६ महिनामा पनि ५० प्रतिशत पुँजीगत खर्च गर्न मुस्किल हुने देखिन्छ। नागरिक दैनिकबाट




प्रतिक्रिया