निर्वाचन जितेको भोलिपल्ट रवि लामिछानेको प्रतिक्रिया : ‘उभार’ का लागि आभार


काठमाडौं, १३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम चितवन–२ को उपनिर्वाचनमा निर्वाचित रवि लामिछानेले चितवन–२ का मतदाताप्रति आभार व्यक्त गरेका छन् । निर्वाचन जितेको भोलिपल्ट आज सामाजिक सञ्जालमार्फत उनले चितवनवासीको गुण सत्कर्मले तिर्ने पनि वाचा गरेका छन् ।
उनले चितवन–२ को मात्रै नभएर देशैभरि गर्नुपर्ने काम धेरै रहेको उल्लेख गर्दै राजनीतिलाई भुईंमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानमा अवरोध तोड्न इमानका साथ लागिरहने पनि वाचा गरेका छन् ।

चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का मतदाताले दिएको उल्लेख गर्दै निर्वाचन सकिएसँगै दलीय प्रतिष्पर्धा सकिएकोले आफू सो क्षेत्रको साझा जनप्रतिनिधि भएको बताए।