काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न खुट्टा कमाएको आरोप लगाएका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको पाँचौं बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले सरकारको पछिल्लो निर्णयको बारेमा आलोचना गर्दै भने–‘पछिल्लो समय त लडाकुलाई पैसा बाँड्ने भनियो । घाइते तथा अपांगलाई बाँड्ने भनेको छ । किस्ता किस्तामा बाँड्ने भनेको छ । अहिले आएर दुई लाख बाँड्ने भनेर अहिलेको सरकार उद्धत भैरहेको छ । अर्थतन्त्र यस्तो चौपट अवस्थामा छ ।’
अध्यक्ष ओलीले मुलुक यतिवेला आर्थिक रुपमा अप्ठ्यारोमा रहेको सुनाउँदै यस्तो बेलामा बर्हिगमित लडाकुलाई दुई लाख दिने भनेर एकलौटी निर्णय गरिएकोमा आपत्ति जनाए । उनले भने,‘माओवादी पार्टी, जसले अहिले सरकारको नेतृत्व गरिराखेको छ, उहाँहरु सरकारबाट यो बलजफ्ती निर्णय गराईरहनुभएको छ । केही कार्यकर्तालाई दिने र फेरि आँफैं लिने । पहिले पनि त्यस्तो भएको छ । क्यान्टोनमेन्टका सवालमा त्यस्तो भएको छ । अरु विभिन्न सवालमा भएको छ । क्यान्टोनमेन्टमा नभएका मान्छेहरुको नाममा पैसा बुझिएको छ । राज्यको ढुकुटी अनुचित ढंगले, छलछाम गरेर खल्तीमा हाल्ने काम भनेको भ्रष्टाचार नै हो । जोसुकैले गरेको होस, भ्रष्टाचार हो त्यो । त्यो भ्रष्टाचारको विषयमा कोही पनि बोल्न तयार छैनन् । आश्चर्यमा मलाई त्यो लाग्छ ।’




प्रतिक्रिया