बाबुरामको प्रष्टीकरण: ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन


काठमाडौं,१७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता र स्वार्थ नजोडिएको प्रष्टीकरण दिएका छन् ।

ललिता निवास प्रकरणमा आफ्नो स्वार्थ जोडिएका विभिन्न समचार बाहिरिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले आइतबार एक ट्विट गर्दै ललिता निवास मात्र नभएर अन्य सबै प्रकारका भ्रष्टचारमा जोडिएका सबै फाइन खोलेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्‘मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु । तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो । त्यसपछि के-कसो भयो मलाई थाहा हुने कुरो भएन । कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन’ ।

‘देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानविन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु । त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु ।’

‘यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्,अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् ।’  file photo