उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने


काठमाडौं, ७ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा सुनुवाइ भएको उक्त मुद्दामा हिजोको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो ।
उक्त मुद्दामा आज (बिहीबार) सुनुवाइ सकिएको हो । सु्नुवाइ सकिएसँगै आजनै फैसला सुनाउने तयारी रहेको बताइएको छ ।
आज साँझसम्म फैसला सुनाउने र संक्षिप्त आदेश आउने तयारी रहेको छ ।

उक्त मुद्दामा सरकारका तर्फबाट सहन्यायाधीशवक्ता दिनेश श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता श्रीराम खनाल र सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद सञ्जेल तथा कानुन व्यवसायीबाट ओमप्रकाश अर्याल, डा.सुरेन्द्र भण्डारीलगायतले वहस गरेका थिए ।प्रतिवादीका तर्फबाट शेरबहादुर केसी, उज्जलराम घिमिरे, योगेन्द्रबहादुर अधिकारी, राजकुमार उप्रेतीलगायतले वहस गरे ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि आक्रमण गरेका थिए। आक्रमणमा चलाउनेको खुट्टा भाँचिएको थियो । साथै, टाउको र छातीमा समेत चोट लागेको थियो।

आफूमाथिको आक्रमण गर्ने नेविसंघका नेता तथा कार्यकर्ताविरुद्ध चलाउनेले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । जिल्ला अदालत काठमाडौंमा उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारी वकिलको निर्णयपछि चलाउने सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चको आदेश अनुसार फेरि चलेको हो ।