सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पाण्डेको एकल इजलासमा


काठमाडौं,२४ मंसिर । राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दा सुनुवाइका लागि आज पेशी तोकिएको छ ।

सन्दीपविरुद्धको रिट सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतको न्यायाधीश न्यायाधीश पदमराज पाण्डेयको एकल इजलासमा पेशी परेको छ । यसअघि कात्तिक २३ गते न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए।अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रूपमा बहस नोट बुझाइ सकेका छन्।

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।

जन्म दर्ता रहेको आधिकारिक निकायबाट आएको जन्म मितिमा भने पीडित भनिएकी किशोरीको उमेर वारदातको समयमा १८ वर्ष तीन महिना रहेको दाबी गरिएको छ । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गतेको मितिमा किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको र जन्म मिति २०६२ जेठ १८ गते रहेको पीडित पक्षले दाबी गरेका छन् । तर आरोपित पक्षले भने किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको दाबी गरी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।

नुवाकोटको एक स्थानीय तहमा गरिएको किशोरीको जन्म दर्तामा किशोरीको जन्म मिति २०६१ असार १८ गते भएको दाबी गरिएको छ । आरोपित पक्षले बलात्कार भयो भनिएको मितिमा बलात्कार भयो कि भएन भनेर वकालत गर्नुभन्दा तत्कालीन समयमा किशोरीको उमेर पुगिसकेको दाबी पेश गरेको छ ।

Skip This

Omoda E5 Pro