प्रधानमन्त्रीले बर्खास्त गर्नुअघि नै मन्त्री ज्वालालाई फिर्ता बोलाउने माधवको तयारी


काठमाडौं, ६ फागुन । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने भएका छन् । दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनामा मुख्य दोषी देखिएका मन्त्री ज्वालालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बर्खास्त गर्नुअघि नै अध्यक्ष नेपालले फिर्ता बोलाउने तयारी थालेका हुन् ।

मन्त्री ज्वालालाई फिर्ता बोलाउने बारे पार्टीमा आन्तरिक छलफल भएको स्रोतले बतायो । प्रधानमन्त्रीले बर्खास्त गर्दा पार्टीबारे जनतामाझ राम्रो सन्देश नजाने भएकाले बर्खास्त हुनु् पहिला नै फिर्ता बोलाउन उपयुक्त हुने निश्कर्ष माधव नेपालको छ ।

आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा पनि मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने व्यापक आवाज उठेको थियो । मन्त्री ज्वाला दोषी रहेको भन्दै सरकारले नै बनाएको छानविन समितिले निश्कर्ष निकाल्दासमेत कारबाही नगरेको भन्दै सरकारको व्यापक आलोचना भएको थियो ।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलमा आवद्ध सांसदहरुले मन्त्री ज्वालाको नैतिकतामाथि प्रश्न उठाएपछि प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदनमा दोषी देखिए कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्रीले संसद्मा प्रतिवद्धता व्यक्त गरेसँग नेकपा (एकीकृत समाजवादी) ले ज्वालालाई फिर्ता बोलाउनेबारे आन्तरिक छलफल गरेको हो ।