कांग्रेसलाई शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा राम्रो होईनः अध्यक्ष नेपाल


काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई शत्रु घोषणा गर्ने काम राम्रो नहुने बताएका छन् । आज (शनिबार) पार्टीका कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैलाई मित्र बनाएर जानुपर्ने बताएका हुन् ।

अहिले देशमा रहेको सबैभन्दा ठूलो चुनौति संविधानमाथिको प्रहार रहेको उनको भनाइ छ । संविधान, गणतन्त्र र संघीयतालाई समाप्त पार्ने प्रवृत्ति बोकेका पार्टीहरु आजको दिनमा प्रमुख समस्याको रुपमा रहेका अध्यक्ष नेपालको दाबी छ ।

‘अहिले हामीले नेपाली कांग्रेसलाई प्रमुख शत्रु भनेर यो संविधानको पक्ष पोषण, गणतन्त्रको रक्षा गर्ने रक्षकको भूमिका खेल्न सक्दछ, शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा पनि उचित हुँदैन भन्ने बुझ्न जरुरी छ,’– उनले भने ।

निर्वाचनको बेला विचारमा द्वन्द्व भएपनि अन्य कुरामा सहकार्य अबलम्बन गरिनुपर्ने उनको भनाइ छ । दलाल नोकरशाही वर्गको रक्षा गर्नेको विरुद्ध पनि आफूहरुले संघर्ष गर्ने उनले बताए ।

साथै, एकीकृत समाजवादीलाई धोका दिने, बेवास्था गर्ने, अस्वीकार गर्ने र महत्व नदिनेप्रति आफूहरु सजक रहेको उनले बताए ।

नेपाली विशेषताको समाजवादमा एक दलीय नभएर बहुदलीय प्रतिस्पर्धाको प्रणाली अवलम्बन गरिने उनको भनाइ छ । नेपालको सन्दर्भमा आफूहरुलाई एक दलीय प्रणाली आफूहरुलाई स्वीकार्य नरहेको उनको भनाइ छ ।