दोहोर्‍याएर मतगणना गर्न माग गर्दै सर्वोच्चमा दायर रिट संबैधानिक इजलासबाट खारेज


काठमाडौं,७ चैत । ०७९ साल मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको मत गणनामा धाँदली भएको भन्दै दोहोर्याएर मत गणना गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट संबैधानिक इजलास बाट खारेज भएको छ ।

आम निर्वाचनमा झिनो मतले पराजित भएका उमाशंकर अरगरिया, गणेश पौडेल, र डम्बर बहादुर, खड्काले दायर गरेको रिट बुधबार सर्वोच्चका प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाले संवैधानिक इजलासले खारेज गरिदिएको हो ।

गत निर्वाचनमा अरगरिया धनुषा, पौडेल रुपन्देही र खड्का इलामबाट प्रतिनिधि सभामा पराजित भइका थिए । अरगरिया एमाले, खड्का कांग्रेस र पौडेल रास्वपाका उम्मेदवार हुन ।

त्यस्तै नेकपाको विभाजनपछि एमालेमा बस्दा राष्ट्रिय सभाको सांसद पद गुमाएका पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले दायर गरेको रिट पनि संवैधानिक इजलासबाट खारेज भएको छ ।