Logo

चिनियाँ अभियान ओबरमा ‘सर्तसहित हस्ताक्षर’ तयारी



काठमाडौं ८ बैशाख ।
घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ (ओबर) को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्राय: निश्चित भएको छ । उपराष्ट्रपति वा उपप्रधानमन्त्री कसको नेतृत्व रहने विषय अन्तिम टुंगोमा पुग्न नसकेको भए पनि केही मन्त्रीहरु त्यहाँ सहभागी हुनेछन् । नेपालले उक्त शिखर सम्मेलन अगावै ओबरमा ‘सर्तसहित हस्ताक्षर’ गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको गत महिना सम्पन्न चीन भ्रमणमा भएको प्रतिवद्धताअनुरुप ओबरमा हस्ताक्षर अन्तिम टुंगोमा पुर्‍याउन लागि परेको यसमा संलग्न परराष्ट्र अधिकारीले बताए ।

नेपाललाई कुन केन्द्रबाट जोड्ने भन्ने विषय नखुल्दा नेपाल पछि हटेको हो । चीनले केरुङ नाकालाई अन्तराष्ट्रिय स्तरको बनाउँदै दक्षिण एसिया जोड्ने र केरुङ काठमाडौं सडकका लागि लगानी गर्ने धारणा पनि उनीहरुले ब्यक्त गरिसकेकाले अव ओबरमा नेपाल स्पष्ट भएर बढ्न लागेको परराष्ट्र अधिकारीले बताए ।

बैशाख ३१ र जेठ १ मा हुने सम्मेलनमा उच्चस्तरको सहभागिता रहने सरकारका प्रवक्ता तथा संचारमन्त्री सुरेन्द्र कार्कीले कान्तिपुरलाई बताए । ‘चीनले आफूलाई पनि निमन्त्रणा गरेको र आफ्नो रुचीको क्षेत्र समेत भएकाले उक्त सम्मेलनमा म सहभागी हुन जानेछु । सम्मेलन अगावै नेपालले ओबरमा हस्ताक्षर समेत गर्ने धारणा प्रधानमन्त्रीबाट नै बाहिर आएकाले त्यसमा समेत काम भइरहेको छ । छिमेकीसँगको सम्बन्ध र सहकार्यलाई हामीले ख्याल गर्न आवश्यक छ,’ संचारमन्त्री कार्कीले भने,‘ओबरको बिषयमा प्रधानमन्त्रीले आफ्नो धारणा भनिसक्नु भएकोले यसमा परराष्ट्र र अन्य सम्बन्धित मन्त्रालयले आफ्नो तबरबाट काम गरिरहेको होला । सम्मेलन अगावै हस्ताक्षर हुनेछ ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्