न्युयोर्क । अमेरिकामा मंगलबार सम्पन्न भएको मध्यावधि निर्वाचनको मतगणना जारी छ । यी निर्वाचनहरूले राष्ट्रपतिको पद प्रत्यक्ष रूपमा परिवर्तन नगरे पनि यसलाई सत्तासीन राष्ट्रपतिको दुई वर्षे कार्यकालप्रतिको ‘जनमत संग्रह’का रूपमा लिइन्छ ।
सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीले पाएको ऐतिहासिक सफलतापछि अहिले जनताले ट्रम्प प्रशासनका नीति र रिपब्लिकन सांसदहरूको कामको समीक्षा मतमार्फत प्रकट गरिरहेका छन् ।
अमेरिकी चुनावी इतिहासलाई हेर्ने हो भने मध्यावधि निर्वाचनमा सत्तासीन दलले पराजयको सामना गर्नुपर्ने पुरानै प्रवृत्ति छ ।
सन् १९४६ यता भएका २० वटा मध्यावधि निर्वाचनमध्ये केवल दुई पटक मात्र राष्ट्रपतिको पार्टीले संसद् (कंग्रेस)मा आफ्ना सिटहरू बढाउन सकेको छ । बाँकी १८ पटक सत्तासीन दलले घाटा नै बेहोरेको छ ।
विगत चार मध्यावधि निर्वाचनको इतिहास र नतिजा
सन् २०१०ः बाराक ओबामा (डेमोक्र्याटिक पार्टी)
प्रतिनिधिसभाः सत्तारूढ डेमोक्र्याटहरूले ६३ सिट गुमाउँदै सदनको नियन्त्रण रिपब्लिकन पार्टीलाई सुम्पेका थिए । यसलाई तत्कालीन राष्ट्रपति ओबामाले ‘पूर्ण पराजय’को संज्ञा दिएका थिए ।
सिनेटः डेमोक्र्याटहरूले ६ सिट गुमाए पनि झिनो बहुमतका साथ नियन्त्रण कायम राख्न सफल भए ।
राजनीतिक पृष्ठभूमि र रेटिङः ओबामाको अप्रुभल रेटिङ (लोकप्रियता) ४४ देखि ४५ प्रतिशत थियो । सन् २००८ को ठुलो आर्थिक मन्दीको असर र स्वास्थ्य नीति ‘ओबामाकेयर’ (अफोर्डेबल केयर एक्ट) लाई लिएर जनमासमा भएको असन्तोष्टी नै डेमोक्र्याटहरूको ठुलो धक्काको कारण थियो ।
सन् २०१४ः बाराक ओबामा (डेमोक्र्याटिक पार्टी)
प्रतिनिधिसभाः डेमोक्र्याटिक पार्टीले थप १३ सिट गुमायो र सदनमा रिपब्लिकनहरूको वर्चस्व कायमै रह्यो ।
सिनेटः डेमोक्र्याटहरूले ९ सिट गुमाएपछि सिनेटको बहुमत पनि रिपब्लिकन पार्टीको हातमा पुग्यो ।
राजनीतिक पृष्ठभूमि र रेटिङः ओबामाको लोकप्रियता ४१ देखि ४३ प्रतिशतमा झरेको थियो । दोस्रो कार्यकालको थकान र दक्षिण तथा मध्य–पश्चिम राज्यहरूमा रिपब्लिकनको बढ्दो प्रभावका कारण डेमोक्र्याटहरूले दुवै सदन गुमाउनु परेको थियो ।
सन् २०१८ः डोनाल्ड ट्रम्प (रिपब्लिकन पार्टी)
प्रतिनिधिसभाः राष्ट्रपति डोनाल्ड ट्रम्पको दलले ४१ सिट गुमायो र सदनको नियन्त्रण डेमोक्र्याटिक पार्टीले हात पार्यो ।
सिनेटः भौगोलिक हेरफेर र रणनीतिक फाइदाका कारण रिपब्लिकनहरूले २ सिट थप्दै सिनेटमा आफ्नो नियन्त्रण जोगाउन सफल भए ।
राजनीतिक पृष्ठभूमि र रेटिङः ट्रम्पको लोकप्रियता ३९ देखि ४४ प्रतिशतको बिचमा थियो । ट्रम्पको कार्यशैली र ध्रुवीकरणका कारण मतदाताहरूमा तीव्र असन्तुष्टि देखिएको थियो ।
सन् २०२२ः जो बाइडेन (डेमोक्र्याटिक पार्टी)
प्रतिनिधिसभाः पूर्वानुमान गरिएको ठुलो ‘रातो लहर’ (रिपब्लिक लहर) का बाबजुद डेमोक्र्याटहरूले केवल ९ सिट गुमाए र रिपब्लिकनहरूले अत्यन्तै झिनो बहुमत मात्र ल्याउन सके ।
सिनेटः डेमोक्र्याटहरूले १ सिट थप्दै सिनेटमा आफ्नो नियन्त्रण सफलतापूर्वक सुरक्षित राखे ।
राजनीतिक पृष्ठभूमि र रेटिङः चुनावका बेला बाइडेनको अप्रुभल रेटिङ घटेर ४० प्रतिशतमा आए पनि डेमोक्र्याटहरूले ऐतिहासिक प्रवृत्तिभन्दा विपरीत अप्रत्याशित नतिजा निकालेका थिए ।
राष्ट्रपतिको लोकप्रियता र चुनावी परिणामको सम्बन्ध
अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपतिको अप्रुभल रेटिङ, तत्कालीन आर्थिक अवस्था र नीतिगत मुद्दाहरूले सीधा असर पार्छन् । ५० प्रतिशतभन्दा कम लोकप्रियता भएका राष्ट्रपतिको पार्टीले मध्यावधि चुनावमा संसद्मा ठुलो संख्यामा सिट गुमाउने गरेको विगतको तथ्याङ्कले स्पष्ट पार्छ ।
२०२६ को मध्यावधि निर्वाचन र ट्रम्पको वर्तमान संकट
रेकर्ड न्यून अप्रुभल रेटिङः यस पटक डोनाल्ड ट्रम्पको लोकप्रियता विगत चार निर्वाचनकै तुलनामा सबैभन्दा कमजोर देखिएको छ । जुलाईमै ३५ प्रतिशतभन्दा तल झरेको उनको अप्रुभल रेटिङ हाल ३१ देखि ३४ प्रतिशतको बिचमा सीमित छ ।
चुनावी एजेन्डा र असन्तुष्टि: रिपब्लिकन पार्टीले पछिल्ला दुई वर्षमा आफ्ना अधिकांश वाचाहरू पूरा गर्न नसकेकोमा जनआक्रोश देखिएको छ । रुस–युक्रेन युद्ध रोक्ने वाचा गरेका ट्रम्पले युद्ध रोक्न नसक्नु, अमेरिका इरानसँगको नयाँ युद्धमा फस्नु, तथा इन्धन (पेट्रोल–डिजेल र ग्यास) को चर्को मूल्यवृद्धि एवं महँगीले गर्दा जनतामा चरम असन्तुष्टि देखिएको छ ।
हालसम्मको नतिजा/रुझानः
प्रतिनिधिसभा (४३५ सिट): विपक्षी डेमोक्र्याटिक पार्टी २१९ सिटमा अगाडि छ भने सत्तारूढ रिपब्लिकन पार्टी १२६ सिटमा मात्र अगाडि छ ।
सिनेट (१०० सिट): डेमोक्र्याटिक पार्टीका ५३ उम्मेदवार अग्रस्थानमा छन् भने रिपब्लिकन पार्टी केवल ४१ सिटमा सीमित देखिएको छ ।
समग्रमा, सन् २०२६ को मध्यावधि निर्वाचनले पनि अमेरिकी राजनीतिको दशकौं पुरानो ऐतिहासिक प्रवृत्ति (अर्थात् सत्तामा रहेको राष्ट्रपतिको पार्टीलाई मतदाताले मध्यावधिमा दण्डित गर्ने परम्परा) लाई पुनः दोहोर्याएको देखिन्छ ।




प्रतिक्रिया