Logo

माओवादीले मात्रै परिवर्तन संस्थागत गर्न सक्छ : प्रधानमन्त्री दाहाल



काठमाडौं, २९ चैत । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वमा जनताले रगत र पसिना बगाएर प्राप्त गरेका परिवर्तनका एजेण्डा माओवादी केन्द्रले मात्रै संस्थागत गर्न सक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र ललितपुर महानगरपालिकाको प्रथम एकता अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले माओवादी केन्द्र मुद्दै मुद्दा भएको पार्टी हो भन्दै जनताको मुद्दा कार्यान्वयनका लागि यो पार्टीले चुनावमा जित्नुपर्ने बताए ।

उनले संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्म्निरपेक्षता, समावेशीता, मधेस, दलित जनजाति लगायतलाई राज्यको मूल प्रवाहमा ल्याउने काम माओवादीले गरेको बताउँदै अब यसलाई कार्यान्वयन गराउन पनि माओवादीले जित्नुपर्ने कुरामा जोड दिए ।

प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनमार्फत् सिंहदरबारमा रहेको सत्तालाई गाँउ–गाँउ पुर्याउने काम माओवादी केन्द्रको एजेण्डाकै कारण सम्भव भएको बताए ।
स्थानीय तहको निर्वाचन आफ्नो सरकारको कारण सफल भएको बताउँदै प्रधानमन्त्रीले माओवादीले जितेन भने प्राप्त उपलब्धीहरु गुम्नसक्ने आशंक व्यक्त गरे ।

प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भए पछि आर्थिक बृद्धिदर ६ प्रतिशत नाघेको, देशभर मूल्यबृद्धि घटेको तथा लोडसेडिङ अन्त्य भएको बताए ।

प्रधानमन्त्रीले आफूले धेरै राम्रा काम गरे पनि प्रचार गर्न नसकेको स्वीकार गर्दै तर जनताले सही कुरा बुझ्दै गएको बताए । प्रधानमन्त्रीले आफूले जनताको सेवा, देशको विकास र सम्बृद्धिभन्दा अन्य केही नसोचेको बताउँदै इच्छाशक्ति हुने हो भने छिट्टै देशको मुहार फेर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस्